घरायसी विवादमा सेनिटाइजर सेवन गर्दा दुई जनाको मृत्यु


१७ फाल्गुन २०७७, सोमबार
syanitizer pic

विराटनगर, १७ फागुन । सेनिटाइजर पिएका विराटनगरमा एकै दिन दुई जनाको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।

यस्तै झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको सेनिटाइजर पिएका कारण मृत्यु भएको छ ।

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन् ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर सेवन गरेका थिए । मण्डलको कोशी अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेनन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

मण्डलको स्वास्थ्य जाँच गर्दा अर्गानो फोसफरस देखिएको उनले बताए । महिलाले सेनिटाइजर सेवन गरेको भए पनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७