धवलागिरिमा किशोरी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी


१८ फाल्गुन २०७७, मंगलवार
SG Myagdi Kisorisammelan

म्याग्दी, १८ फागुन । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।

गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा भएको सम्मेलनमा ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ प्रतिनिधिको सहभागिता थियो । किशोरीको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल गरेर प्रतिबद्धतासहितको घोषणापत्र जारी भएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।

किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, कानूनले तोकेभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानूनी कारवाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरिएको सम्मेलनमा सहभागीहरूले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुनलागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरिएको छ ।

घोषणापत्रमा किशोरीहरूले महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धविश्वास र रूढिवादीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।

बाँच्न, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको सहजरूपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरूले बालविवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेका, महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुव्र्यवहार भएको बताएका थिए ।

किशोरीहरूले किशोरी सञ्जालमार्फत विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए । किशोरी सञ्जालका सोनिया केसी, नरदेवी विक, लक्ष्मी विकलगायतले विद्यालयमा स्यानिटरी प्याडको सुविधा भएपछि महिनावारी हुँदा पनि विद्यालय जाने वातावरण बने पनि प्याडको सुरक्षित व्यवस्थापन गर्ने ठाउँ नभएको बताएका थिए ।

सङ्गम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीले धवलागिरि गाउँपालिकामा बालविवाहको अवस्थाका साथै कारण, असर र कानूनी व्यवस्थाको बारेमा जानकारी गराएका थिए । धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले कानूनले अपराध मानेको बालविवाहको एक कारण गलत संस्कृति भएको बताए । उनले बालविवाहले महिलाहरूको शिक्षा, स्वास्थ्य, सामाजिकलगायत धेरै क्षेत्रमा असर गरेको बताए ।

कार्यपालिकाका सदस्य तथा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले सञ्चालन गरेको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यामबहादुर थापाले गरिबी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोग बालविवाहको कारण भएको बताउनुभयो । गाउँपालिकाका योजना अधिकृत कृष्ण सुवेदी र शिक्षा अधिकृत कमलप्रसाद ढकालले बालविवाह न्यूनीकरणका लागि किशोरीहरूनै सचेत बन्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७