विप्लव समूहले पनि बनायो वार्ता टोली, प्रकाण्ड संयोजक

काठमाडौं, १८ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
पार्टी प्रवक्ता रहेका प्रकाण्डको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आज (मंगलबार) केहिबेरपछि नै सार्वजनिक गरिने स्रोतले जानकारी दियो । सरकारले आज (मंगलबार) गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले भने । वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेको उनले बताए । अर्का सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन् । विप्लव समूहका विश्वकर्मा पूर्व मन्त्री पनि हुन् ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताउँदै आएका थिए ।