कुर्सी र व्यक्तिगत स्वार्थका लागि मुलुकमाथि पटक–पटक घात गरियो : वरिष्ठ नेता महतो


१८ फाल्गुन २०७७, मंगलवार
TRO Kailali

कैलाली, १८ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नु पर्ने बताएका छन् ।

जसपाले आज (मंगलबार) धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नुको विकल्प नरहेको बताए । ‘यो गोलचक्करबाट नेपाललाई मुक्ति चाहिन्छ’, उनले भने, ‘जबसम्म गोलचक्करबाट नेपाललाई मुक्ति मिल्दैन तबसम्म नेपालको कहिल्यै समृद्धि हुन सक्दैन र कहिले पनि नेपाली जनता अधिकार र पहिचान पाउन सक्दैनन् ।’

वरिष्ठ नेता महतोले संविधान र शासन पटक–पटक परिवर्तन हुने तर विचार र व्यवहार चाहिँ परिवर्तन नहुनुले नै देशमा समस्या निम्तिएको बताउँदै कुर्सी र स्वार्थका लागि मुलुकमा पटक–पटक राष्ट्रघात काम भएको आरोप लगाए ।

उनले जनता समाजवादी पार्टी नै यो देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने र त्यसले देशको विधमान समस्यालाई समाधान गर्ने बताए । मुलुकको परराष्ट्र नीति कस्तो हुनु पर्दछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले परराष्ट्र नीति कुनै पार्टी वा व्यक्तिको नभई देशको हितमा हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७