५० लाख डोज कोरोनाको खोप किन्न प्रक्रिया शुरु

काठमाडौंं, १८ फागुन । सरकारले थप ५० लाख डोज कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप खरिद प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
आज (मंगलबार) प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा कोभिड–१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नका लागि प्रक्रिया शुरु गरेको जानकारी दिएका हुन् । अहिले मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी एक करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले आउँदा दिनमा खोप अभियान ज्येष्ठ नागरिकबाट शुरु गर्ने बताए । अग्रपंत्तिमा खटेर काम गर्नेहरूलाई पनि कोभिड–१९ को सङ्क्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । तीन लाख डोज खोप यही हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिएका छन् । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुने पनि उनले बताए ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिडविरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असर देखा नपरेको बताए । डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्षमुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्याङ्क नआएको हुनाले खोप नदिइने उनको भनाइ छ ।