पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही


१८ फाल्गुन २०७७, मंगलवार
Tanker 1

काठमाडौंं, १८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो ।

निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ । ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।

यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ ।

कार्यालयले पाँच चालक–सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्याङ्करलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ । निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने ३०० ट्याङ्कर तथा ट्रकलाई कारवाही गरेको छ । निगमले जरिवाना बापत ती ट्रक तथा ट्याङ्करबाट १० हजार सङ्कलन गरेको छ ।

महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘निगमको कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारवाही हो’, उनले भने । अनियमित गर्ने ट्याङ्करमाथि कारवाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७