अफगानिस्तानमा गोली हानी तीन महिला सञ्चारकर्मीको हत्या

काठमाडौं, १९ फागुन । पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीनजना महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेका छन् ।
युद्ध अन्त्यका लागि निरन्तर वार्ताको प्रयास भइरहेको समयमा बन्दुकधारीले सञ्चारकर्मीको हत्या गरेका हुन् । यो आक्रमणले शान्तिवार्ताका लागि तालिबान समूहसँग अमेरिकी पहलमा भइरहेको प्रयासमा समस्या सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कार्यालयको काम सकेर पैदल घर जाँदै गरेका सञ्चारकर्मीलाई गोली प्रहार गरी हत्या गरिएको एनिकास टीभीका निर्देशक जलमाई लतिफीले जानकारी दिए । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
घटनास्थललाई सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी सुरु गरेको छ । अफगानिस्तानमा तालिबान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भइरहेका छन् । वार्तामा तालिबान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख सर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।
तालिवानी सरकार, अमेरिकालगायतका विश्व समुदायले तालिबान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिबान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन् । एजेन्सी