रोनाल्डोले खेले ६ सयौं लिग, युभेन्टस विजयी

काठमाडौं, १९ फागुन । क्रिस्टियानो रोनाल्डोले मंगलबार आफ्नो ६ सयौं लिग खेल खेल्दा युभेन्टसले स्पेजियालाई सजिलै ३–० ले हराएको छ । यो जितका लागि रोनाल्डोले एक गोल गरे जुन सिजनमा उनको २० औं सिरी ए गोल हो ।
खेलका तीनै गोल दोस्रो हाफमा भएका थिए । तेस्रो गोल रोनाल्डोले गरे । त्यसअगाडि अल्भारो मोराटा र फेडरिको चिसाले गोल गरेका थिए ।
यो जितपछि युभेन्टस दोस्रो स्थानमा रहेको एसी मिलानको दूरी तीन अंकमा छोट्याउन सफल रह्यो । रोनाल्डो भने युरोपका ठूला पाँच लिगका पछिल्ला १२ सिजनमा प्रत्येकपल्ट कम्तीमा २० गोल गर्ने पहिलो खेलाडी भएका छन् । एजेन्सी