नख्खुमा जीपले ठक्कर दिंदा कलेज हिंडेकी छात्राको गयो ज्यान

काठमाडौं, १९ फागुन । ललितपुरको नख्खुमा जीपले ठक्कर दिंदा कलेज जाँदै गरेकी एक छात्राको ज्यान गएको छ ।
आज (बुधबार) बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा दाहाललाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको हो । प्रहरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् । जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।