भूकम्पले घर क्षति भएका थप ५४५ को निवेदन


१९ फाल्गुन २०७७, बुधबार
punanirman

चितवन, १९ फागुन । भूकम्पका कारण घरमा क्षति भएर मर्मत सम्भार मात्र गर्न निवेदन दिएकामध्ये ५४५ जनाले नयाँ घर बनाउनका लागि अनुरोध गरेका छन् । शुरुमा सामान्य मर्मत सम्भारबाट घर बनाउने भनिए पनि पछि उनीहरूले पूरै घर निर्माणका लागि निवेदन दिएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनमा घर मर्मतका लागि आवेदन दिएका एक हजार ३७८ मध्ये ५४५ जनाले पूरै घर बनाउन निवेदन दिएका हुन् । एकाइका इञ्जिनीयर सुवास नेपालका अनुसार निवेदन परेकामध्ये २८३ को नाम प्राधिकरणबाट स्वीकृत भइसकेको छ । एक सय ६२ को नाम पठाइसकिएको र अन्य १०० को नाम पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । घर मर्मत मात्रै गर्ने निवेदन दिएका (प्रबलीकरणमा परेका) मध्ये १७ जनाले दोस्रो किस्तावापतको रकम समेत निकासा गरिसकेका छन् ।

घर प्रबलीकरण गर्नेहरूले पहिलो र दोस्रो किस्ता क्रमशः रु ५०–५० हजार अनुदान पाउने छन् । नयाँ घर बनाउनेहरूले भने तीन किस्ता गरेर रु तीन लाख पाउनेछन् । सेवाग्राहीमध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारिस गरिएको छ । सेवाग्राही सम्पर्कमा नआएका कारण उनीहरूको नाम हटाइएको हो ।

जिल्लामा भूकम्पको समयमा सात हजार ८६० घर पुनर्निर्माण गर्नुपर्ने भएको थियो । तीमध्ये हालसम्म छ हजार २०२ घर पुनर्निर्माणको काम सम्पन्न भएको छ । घर निर्माण सम्पन्न हुनेमा ८२ दशमलव नौ प्रतिशत रहेको नेपालले बताए । उनका अनुसार पुनर्निर्माणतर्फ पहिलो किस्ता सात हजार ५५५ र दोस्रो किस्ता छ हजार ६२४ को निकासा भइसकेको छ ।

उनीहरूले पहिलो, दोस्रो र तेस्रो किस्तावापत क्रमशः रु ५० हजार, एक लाख ५० हजार र एक लाख पाउने छन् । पुनर्निर्माणतर्फ ३०५ जनाको नाम लाभग्राहीबाट हटाउनका लागि सिफारिस गरिएको छ । भूकम्पका कारण जिल्लाका सात वटै पालिका प्रभावित भएका थिए । तीमध्ये जिल्लाको पहाडी क्षेत्रमा रहेको इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७