नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल र सभामुख सापकोटाले लगाए कोरोनाको खोप

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
फागुन २३ गतेदेखि संघीय संसद अधिवेशन शुरु हुन लागेको हुँदा सांसद, पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई कोभिड खोप लगाउन सुरु गरिएको हो । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ ।