श्रीमतीले श्रीमान बोकेर दौडिने प्रतियोगिता


१९ फाल्गुन २०७७, बुधबार
jodi

दमौली, १९ फागुन । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ ।

१११ औं नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविर समेत आयोजना गर्दैछ ।

म्याग्देमा छात्रा फुटबल प्रतियोगिता हुने
नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुनेछन् ।
चौंरीदेउरालीमा अध्यक्ष कप फुटबल फागुन २८ देखि
बनेपा– काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ हुने भएको छ । चालु आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमानुसार फागुन २८ गतेदेखि चैत १ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विनोद घिसिङले बताए ।

प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुने छन् । यस पटकको फुटबल प्रतियोगिता वडा नं ३, माझीफेदा खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी संख्या, अतिरिक्त र अधिकृतसहित १३ जना सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महान्दास लामाले बताए ।

उनका अनुसार यस पटक प्रतियोगितामा पहिलो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७