जीपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थी निस्किए सडकमा

काठमाडौं, १९ फागुन । जीपको ठक्करले सहपाठीको ज्यान गएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले आज (बुधबार) जावलाखेलमा सडक अवरुद्ध बनाएका छन् । दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
सोही क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया अञ्जु दाहाललाई आज (बुधबारं बिहान क्याम्स जाँदै गर्दा नक्खु, बागडोलमा जीपले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिएपछि जीपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीका ेआरोप छ । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जीप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ललितपुर प्रहरीका अनुसार बुधबार बिहान १० बजेदेखि जावलाखेलमा सवारी आवागमन अवरुद्ध भएको छ । खुलाउन विद्यार्थीसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्ने गरेकी अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्थिन् । दाहाललाई बिहान ६ बजेतिर स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिएको थियो । जीप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।