बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस’ भन्दै गरियो कुटपिट


१९ फाल्गुन २०७७, बुधबार
0a97c1e012df573a7692b45d03576f55 w1000 h500 cp

काठमाडौं, १९ फागुन । सन् २०२० को सुरुवातमा जब कोरोना भाइरस ‘कोभिड १९’ विश्वभर फैलिँदै थियो त्यसबेला विश्वभर चिनियाँ नागरिकमाथि जातीय हिसाबमा दुर्व्यवहार भएको घटना सार्वजनिक भएका थिए ।

कोरोना भाइरस पहिलोपटक चीनको वुहानबाट फैलिएको जानकारी प्राप्त भएको थियो । जातिवादी सोचकै कारण त्यसबेला चीनका विद्यार्थीहरुमाथि विभिन्न देशमा कुटपिट भएको थियो । चिनियाँ जस्ता देखिने मानिसहरुलाई कोरोना भाइरस उत्पत्ति हुनुमा जिम्मेवार ठहर्‍याउँदै आक्रमणको घटना बढेपछि अधिकारवादी संस्थाहरुले त्यसको विरोध जनाएका थिए ।

कोरोना भाइरसको विषयलाई कुनै पनि जाति र धर्मसँग जोड्न नहुने भन्दै चिनियाँ नागरिक अथवा एसियाली मूलका मानिसलाई दुर्व्यवहार गर्न नहुने आवाज उठेको थियो । धेरै देशले जातिवादी सोच राखेर कोरोना भाइरस उत्पत्ति हुनुमा कसैलाई जिम्मेवार ठहराए कारवाही गर्ने नियम नै बनाएका थिए । तर त्यस जातिवादी सोच अझै अन्त्य भएको देखिएन । बेलायतमा गत हप्ता मात्रै एक चिनियाँ प्राध्यापकमाथि निर्घात कुटपिट भएको छ ।

Capture

युनिभर्सिटी अफ साउथह्याम्पटनमा फाइनान्सियल म्यानेजमेन्ट पढाइरहेका ३७ वर्षका प्राध्यापक पेङ वाङमाथि २० देखि २५ वर्षका केही युवाहरुले गत मंगलबार कुटपिट गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । घर नजिकै जगिङ गरिरहेका उनलाई ‘चाइनिज भाइरस गेट आउट फ्रम दिस कन्ट्री’ भनेर गाली–गलौज गरिएको थियो ।

‘कारमा आएका केही अराजक युवाहरुले मलाई गाली–गलौज गरेका थिए’ पेङ वाङ भन्छन्,‘उनीहरुले मलाई चिनियाँ भाइरस हाम्रो देशबाट बाहिर जाभन्दै कुटपिट गरेका थिए ।’ केही समयमै युवाहरुले उनलाई घेरेर उनीमाथि मुक्का र लात्ता प्रहार गरेका थिए । आक्रमणबाट उनको नाकबाट रगत बगेको थियोभने शरीरका विभिन्न स्थानमा चोट लागेको थियो ।

प्रत्यक्षदर्शी एक व्यक्तिले प्रहरीलाई खबर गरेपछि एक जना युवा गिरफ्तार भएका थिए । यस घटनाले चिनियाँ नागरिक बेलायतमा सुरक्षित नभएको भन्दै आवाज उठेको छ । गत वर्षको मार्चमा पनि बेलायतमा सिंगापुरका १६ वर्षका विद्यार्थी जोनाथन मकलाई कोरोना भाइरसकै विषयमा कुटपिट गरिएको थियो ।

बेलायतको एक अध्ययनअनुसार गतवर्ष बेलायतमा जातिवादी दुर्व्यवहार ह्वात्तै बढेको देखिएको छ । अध्ययनअनुसार गत वर्षको जनवरीदेखि जुनसम्ममा पूर्वी एसियाली जस्ता देखिने ४५७ जनामाथि आक्रमण भएको उजुरी प्रहरीमा परेको थियो । चिनियाँ जस्ता देखिने मानिसलाई चिनियाँ भाइरस भनेर दुर्व्यवहार भएको बताइएको छ । एससीएमपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७