पशुपतिमा फागुन २५ देखि विशेष पूजा


१९ फाल्गुन २०७७, बुधबार
pashupati title
फाइल फोटो

काठमाडौं, १९ फागुन । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्ष अघिदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए । महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार जना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५–७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब नौ महिना मन्दिर समेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७