सिस्नेमा प्रम रोजगारको बजेट सबै वडामा पठाइने


१९ फाल्गुन २०७७, बुधबार
pm rojgar 1
फाइल फोटो

रुकुम (पूर्व), १९ फागुन । रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट सबै वडामा पठाउने भएको छ । पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि विनियोजित सशर्त अनुदानको रु एक करोड ४४ लाख २५ हजार बजेट वडामा सूचीकृत बेरोजगार संख्याका आधारमा गाउँपालिकाको आठवटै वडामा पठाउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

यस्तै जिल्ला सदरमुकाम छिप्रीदहमा बजारीककरण बढेसँगै सार्वजनिक शौचालयको आवश्यकता खड्किएको छ । सार्वजनिक शौचालय नभएकै कारण नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतमा बसेको ५९औं कार्यपालिका बैठकले सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ जसका लागि रु तीन लाख ५० हजार बजेट छुट्याइएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए ।

उनका अनुसार सिस्ने हिमालको प्रचारप्रसारसँगै पर्यटकहरुका लागि पदमार्ग पनि निर्माण गरिने भएको छ । रुकुम (पूर्व) महत्वपूर्ण पर्यटकीय गन्तव्य सिस्ने हिमालको आरोहणसँगै सोही हिमाल हुँदै पुथा हिमाल र ढोरपाटनसम्म पुनः सिस्ने हिमाल हुँदै डोल्पा जान रुचाउने पदयात्रीका लागि पदमार्ग निर्माण गरिने भएको हो ।

जसका लागि रु तीन लाख ७० हजार बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता केसीले बताए । हाल सालै मात्र हिमाल आरोही मानबहादुर खत्री नेतृत्वको टोलीले सिस्ने राउण्डको अन्वेषण गरिसकेको छ । गाउँपालिकाले पनि रुकुम (पूर्व) का हिमालहरुसँग रमाउँदै डोल्पा जाने पदमार्ग निर्माण ग¥यो भने पर्यटनको क्षेत्रमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यति मात्र नभई सिस्नेले गाउँपालिकाभित्र रहेका दलित तथा अति विपन्न बिरामीको उपचारका लागि रु १० हजार बराबरको उपचार कोष खडा गर्ने निर्णय गरेको छ । पहिले जटिल प्रकारका रोगहरु लागेका बिरामीलाई सहयोग गर्दै आएको गाउँपालिकाले अहिलेको कार्यपालिका बैठकबाट साना रोग लागे पनि उपचार गर्न नसक्ने दलित तथा अति विपन्न परिवारका लागि उक्त कोष खडा गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दलित तथा अति विपन्न परिवारका लागि उपचार कोष खडा गरेपछि लक्षित समुदायका व्यक्ति खुशी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७