दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं, १९ फागुन । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।
राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् । उनले विमानमा सवार दुई पाइलट सहित १० व्यक्तिको मृत्यु भएको जानकारी एएफपीलाई जानकारी दिए ।
यसैबीच सुडानमै हालै एउटा बिरालोका कारण विमानलाई आकस्मिक अवतरण गरिएको खबरहरु आएका छन् । बिरालोले पाइलटसहित विमान चालक दलका सदस्य सबैलाई आक्रमण गर्न थालेपछि विमान आकस्मिक अवतरण गरिएको थियो ।
हालै खार्टोम अन्तर्राष्ट्रिय विमानस्थलबाट टार्को एयरलाइन्सको बोइङ ७३७ विमान दोहाको हामद अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो । तर बिरालोले विमानका पाइलटलाई आक्रमण गरेपछि उडिसकेको विमानलाई आकस्मिक अवतरण गर्नुपरेको एयरलाइभ डटनेटले जनाएको छ । एजेन्सी