नयाँ सरकार बनाउन देउवा तयार, वातावरण बनाउन नेताहरू सक्रिय


२० फाल्गुन २०७७, बिहीबार
deuwa

चितवन, २० फागुन । संसद् विघटनदेखि पुनर्स्थापनासम्म ढुलमुले नीति लिएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मानसिक रूपमा तयार देखिएका छन् । र, आफू प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन देउवाले पार्टी नेताहरूलाई खटाएका छन् ।

संसद् पुनर्स्थापनालगत्तै नेकपाको प्रचण्ड–नेपाल समूहले सहकार्यका लागि गरेको आग्रहमा देउवाले ‘नेकपा विभाजन’लाई सर्त बनाउँदै आएका थिए । तर, मंगलबार कांग्रेस र प्रचण्ड–नेपाल समूहका नेताहरूबीच चरण–चरणमा भएका भेटपछि देउवाले बुधबार विभाजनलाई प्रमुख विषयवस्तु नबनाई ‘आवश्यक परे’ प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका छन् ।

दुवै समूहलाई सत्तामा सहकार्यका लागि विभाजनको वैधानिकता मागिरहेका देउवाले बुधबार चितवनमा भएको कार्यक्रममा परिस्थिति सिर्जना भए आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘कांंग्रेसलाई पदको लोभ छैन । तर, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन । प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भनेको पनि छैन । तर, जिम्मेवारी आयो भने भाग्नेवाला पनि छैन,’ देउवाले भनेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही नेताले सरकारमा जान नहुने भनेकाप्रति लक्षित गर्दै देउवाले भने, ‘अरू पार्टीको प्रधानमन्त्री हुनुभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री हुनु फाइदै होला भन्ने मलाई लागेको छ । म पार्टीका तर्फबाट प्रधानमन्त्री हुनु भनेको पार्टी नै बलियो हुनु हो । पार्टीलाई फाइदाको कुरा पनि हो ।’

संसद्मा कांग्रेस नभई सरकार नबन्ने परिस्थिति बन्दै गएको र आइतबारदेखि संसद् अधिवेशन सुरु हुन थालेको पूर्वसन्ध्यामा देउवाले पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिने अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् । नेकपाका दुई समूहको तानातानमा परेका देउवाले गत बिहीबार पार्टीको शीर्ष नेताहरूको बैठक बोलाएका थिए । बैठकले नेकपा विभाजनको वैधानिकता आइनसकेकाले परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको थियो । त्यसयता पनि देउवा नेकपाका दुवै समूहसँग निरन्तर छलफलमा छन् ।

जिम्मेवारीबाट भाग्नेवाला छैन
कांंग्रेसलाई पदको लोभ छैन । तर, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन । प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भनेको पनि छैन, तर जिम्मेवारी आयो भने भाग्नेवाला पनि छैन । अरू पार्टीको प्रधानमन्त्री हुनुभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री हुनु फाइदै होला भन्ने लागेको छ । म पार्टीका तर्फबाट प्रधानमन्त्री हुनु भनेको पार्टी नै बलियो हुनु हो । पार्टीलाई फाइदाको कुरा पनि हो ।

स्रोतका अनुसार देउवा आफैँ ओली, प्रचण्ड र माधव नेपालसँग सम्पर्कमा बसेका छन् । उनी निकट नेता रमेश लेखक पनि ओली समूहका दोस्रो तहका नेतासँग संवादमा छन् । यस्तै, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल नेकपाको प्रचण्ड–माधव समूहसँग संवादमा छन् ।

देउवा निकट एक नेताले दुवै समूहसँग वार्ता भए पनि प्रचण्ड–माधव समूहसँगको छलफल सकारात्मक भएको जानकारी दिए । देउवा निकट केन्द्रीय सदस्य रमेश लेखकले दुवै समूहसँग वार्ता भइरहेको स्वीकार गरे । ‘छलफल भइरहेकै छ, तर अहिले यसलाई सहयोग गर्ने वा नगर्ने ? भन्ने टुंगो लागेको छैन । नेकपाको विभाजन नभएसम्म हामीले टुंगो लगाउदैनौँ,’ उनले भने, ‘देशको अवस्थाबारे निरन्तर छलफल हुनु खासै ठूलो कुरा भएन, यो सामान्य कुरा हो ।’

केन्द्रीय सदस्य डा. नारायण खड्का दुवै समूह कांग्रेससँग संवाद गर्न उत्सुक रहेको बताउँछन् । ‘अहिले कांग्रेस दोकान थापेर बसेको जस्तो भएको छ । जहाँ दुईखाले ग्राहक आइराख्छन् । दुवै समूह उत्तिकै उत्सुक छन् । हामीले नचाहँदा पनि उहाँहरू आइरहनुभएको छ । टेबलमा हाम्रा लागि थुप्रै अप्सन छन् । तीमध्ये उत्कृष्ट अप्सन कांग्रेसले छान्ने हो, संसद्लाई सुचारु गरेर जनताका मुद्दालाई अगाडि बढाउन जोसँग सहज हुन्छ, त्यही समूहसँग कांग्रेसले सहकार्य गर्छ,’ खड्काले भने ।

कांग्रेस नेताहरूले पनि आफ्नै पार्टीको नेतृत्वको सरकार बन्ने सम्भावनाको उपयोग गर्ने संकेत गरिरहेका छन् । ‘नेकपा विभाजन भएर कांग्रेस नभई सरकार नै नबन्ने अवस्था आयो भने हामीले संसदीय प्रक्रियामा स्वतः सरकारको नेतृत्व गर्न तयार हुनुपर्छ,’ देउवा निकट मानिने सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।

केन्द्रीय सदस्य मीनेन्द्र रिजालले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा सरकारमा जान सकिने बताए । ‘नेकपा विभाजन भइसकेको छैन, यदि संसद्मा कांग्रेसविना सरकार नै बन्न नसक्ने अवस्थामा कांग्रेसको नेतृत्वमा सरकारमा जान सकिन्छ,’ उनले भने ।

केन्द्रीय सदस्य तथा सांसद डा. नारायण खड्काले पनि परिस्थिति हेरेर कांग्रेसले सरकारको नेतृत्व लिने बताए । ‘कांग्रेसले आफ्नो मात्रै होइन, देशको, जनताको हित र लोकतन्त्रको संरक्षण हुने हिसाबले निर्णय लिने हो,’ उनले भने, ‘सत्तारुढ दलले सरकार चलाउन नसकेको अवस्थामा सरकारको नेतृत्व गर्नु प्रतिपक्षीको धर्म हो ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारको विकल्प सोच्ने वेला आए कांग्रेसले परिस्थिति हेर्ने बताए । ‘नेकपाले झन्डै दुईतिहाइ मत पाएको हो, तर उसले काम गर्न नसकेको यथार्थ हो । उसले सरकार चलाउन नसक्ने हो भने हामीले परिस्थिति हेर्नुपर्ने हुन्छ,’ सिंहले भने ।

शृंखलाबद्ध भेटघाट
भावी समीकरणलाई लिएर मंगलबार बिहान मीनेन्द्र रिजालले माधवकुमार नेपाललाई भेटेपछि साँझ नेपालनिकट नेता सुरेन्द्र पाण्डद्वारा निवासमै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतबीच पनि छलफल ।

त्यसैबीच प्रतिनिधिसभाको पुनस्र्थापनापछिको अवस्थामा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । संसदीय दलले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

प्रचण्ड–माधवसँग मिलेर सरकारमा जान दबाब
नयाँ सरकार गठनमा प्रचण्ड–माधव समूहसँग मिलेर अघि बढ्न देउवालाई पार्टीभित्रैबाट दबाब छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले खुलेरै नेकपाको ओली समूहसँग सहकार्य गर्न नहुने भन्दै आएको छ ।

बुधबार चितवन पुगेका महामन्त्री डा. शशांक कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाको माधव–प्रचण्ड समूहसँग मिलेर सरकार बनाउनुपर्ने धारणा राखे । कोइरालाले नेकपा फुटाउन भए पनि कांग्रेस सरकारमा जानुपर्ने तर्क प्रस्तुत गरे ।

‘नेकपालाई टुटाउने हो भने पनि कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन,’ कोइरालाले भनेका थिए । उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुनेसमेत बताए । कोइरालाले कांग्रेस वा प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार प्रचण्ड–माधव समूहसँगै सहकार्य गर्नुपर्ने संकेत गर्दै कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह हुने गरी भूमिका खेल्नुपर्ने बताएका थिए । ‘हामी संसद्मा विपक्षी हो । सत्ता जहाँ छ, हामी त्यसको विपक्षमा हौँ । अहिले सत्ताले बदमासी गरेको छ । असंवैधानिक काम गरेको छ । अहिले त हामी सीधै विपक्षतिर लाग्ने हो । अहिले पनि सत्तातिर टाँसिने होइन,’ पौडेलले भनेका थिए ।

श्रद्धाञ्जली सभामा देउवा–पौडेलको जुहारी
पूर्व सांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभाका लागि बुधबार चितवन पुगेका देउवा र पौडेलबीच जुहारी चलेको छ । चितवनको रत्ननगर नगरपालिका– १४ स्थित पूर्वसांसद रानाभाटको निवासमा भएको श्रद्धाञ्जली सभामा पौडेलले अहिले कांग्रेसले आफ्नो हैसियतअनुसारको भूमिका निभाउनुपर्ने बताएका थिए ।

श्रद्धाञ्जली सभामै पौडेलले राजनीतिक विषयमा उठाएको भन्दै देउवाले पौडेललाई सानो चित्त नगर्न आग्रह गरेका थिए । ‘रामचन्द्रजी तपाईं सभापति, प्रधानमन्त्री बन्नुहोला भनेर चिन्ता नगर्नुहोस् । राष्ट्र प्रमुखमा अद्भूत क्षमता कसैसँग पनि हुँदैन । सबैले तपाईंको चित्त सानो छ भन्छन्,’ देउवाले भने, ‘सानो चित्त नगर्नुस् । विशाल मन राख्नुस् । के आउँछ, कस्तो आउँछ हेर्दै जानुपर्छ । हामीले मरिमेट्ने कुरा पनि छैन, तर काँधमा आएको जिम्मेवारीबाट भाग्ने कुरा पनि छैन ।’

देउवाअघि बोलेका पौडेलले कांग्रेसले संसद्मा विपक्षी दलको हैसियतले भूमिका खेल्नुपर्ने बताएका थिए । ‘मुलुक विघटनबाट त बचेको छ । तर, अब विकृतबाट बचाउनु छ । वास्तवमा कसैले पनि आफ्नो हैसियतभन्दा बढी आकांक्षा राख्नु पनि विकृति हो । आफ्नो हैसियतभन्दा बढी आकांक्षा हामी कसैले पनि नराखौँ,’ पौडेलले भनेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७