‘आगलागी नियन्त्रण गर्ने छुट्टै योजना छैन’


२० फाल्गुन २०७७, बिहीबार
dadhelo 1 1
फाइल फोटो

बागलुङ, २० फागुन । ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’, यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्, ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन निभाउनुपर्‍यो’, उनले आगो निभाउनका लागि अनुरोध गर्दैगर्दा न त उनीहरुसँग पूर्व तयारी थियो न सामग्री नै । त्यो दिन गलकोटका तीन सामुदायिक वनमा आगलागी भयो ।

आगलागीका कारण झण्डै १०० हेक्टर क्षेत्रफलमा फैलिएका सामुदायिक वनको ६० हेक्टर क्षेत्रफलमा रहेका बुट्यान डढेलोका कारण जलेर नष्ट भएको प्रारम्भिक तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । वनमा लागेको आगो बस्ती नजिकै फैलिन थालेपछि चिन्तामा रहेका स्थानीय र प्रहरीको सक्रियतामा १८ घण्टापछि नियन्त्रणमा आएको थियो । पूर्वतयारीबिनै आगो नियन्त्रणका लागि स्थानीय खटिए ।

रातभरि अग्निरेखा काटेपछि बल्ल आगो नियन्त्रणमा आयो । भैँसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो । आगलागीको कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले बताए ।

उता वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेकी थुमकुमारी थापाले जानकारी दिइन् । गलकोटमा आगलागी भएको सात दिनपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको माझकटेरी सामुदायिक वनमा भीषण आगलागी भयो ।

वनमा लागेको आगो बस्ती नजिक आउन थालेपछि स्थानीयवासी नियन्त्रणका लागि कस्सिए । आगोले १०० हेक्टर जमिनमा रहेका बुट्यान मासेपछि मात्रै आगो नियन्त्रणमा आयो । स्थानीयवासीले अग्निरेखा बनाएरै आगो नियन्त्रणमा लिएको स्थानीयवासी बावुराम भण्डारी दाबी गर्छन् । आगलागीले मासेको वन क्षेत्रको प्रारम्भिक तथ्याङ्कमात्रै डिभिजन वन कार्यालयमा आएको छ ।

धम्जाको आगो निभाउनका लागि सदरमुकाममा रहेको विपत् व्यवस्थापन गुल्म पुग्नुपरेको थियो । भौगोलिक हिसाबले ढाटा रहेको गुल्मको तालिमप्राप्त समूह पुग्ने बेलासम्म आगो धेरै फैलिइसकेको थियो । फागुन १८ गते जैमिनी र बागलुङ नगरपालिकाको सीमा क्षेत्रको वनमा आगलागी भयो । जैमिनी–१ को तारेभिर, लजुकेनी अर्खलापाटा सामुदायिक वन क्षेत्र नजिकैबाट फैलिएको आगो बागलुङ नगरपालिका–१२ अमलाचौरको निजी वन क्षेत्रमा समेत फैलियो । त्यहाँको आगो नियन्त्रणका लागि समेत अग्निरेखा महत्वपूर्ण सावित भयो ।

गर्मीयाम शुरु हुनै लाग्दा बागलुङमा भएका आगलागीका प्रतिनिधि घटना मात्रै हुन् । यो मौसममा बागलुङमा हरेक वर्ष हजारौँ हेक्टर जमिनमा आगलागी हुने गरेको छ । ‘विपद् व्यवस्थापन कोष छ, प्रकोपसँगका सबै समस्यासँग जुध्ने त्यहीँबाट हो’, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा भन्छन्, ‘आगलागी नियन्त्रणका लागि छुट्टै योजना छैन ।’

यहाँका वनक्षेत्र अधिकांश बस्तीको नजिकै पर्छन् । वनमा लागेको आगो समयमा नियन्त्रण नहुँदा बस्तीमा ठूलो क्षति हुने सम्भावना रहने बागलुङ नगरपालिका–१२ का स्थानीयवासी हरि पौडेल बताउँछन् । वनसँग सम्बन्धित काम गर्ने कार्यालय अन्य काममा अल्मलिने र स्थानीय तहको चासो कम हुँदा वन हुँदै बस्ती पस्ने आगलागीका कारण ठूलो क्षतिको सम्भावना छ । ‘हामी उद्यममा अल्झिएका छौँ, प्रदेश मातहत चल्ने भएपछि वनभन्दा अन्य कामको लोड कार्यालयमा छ’, डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले भने, ‘स्थानीय तह र हामीबीच वनको अधिकार क्षेत्रका विषयमा रहेको विमतिले पनि समस्या पैदा भइरहेका छन् ।’

कार्यालय सामुदायिक वनका लागि डढेलो नियन्त्रणका लागि सामग्री उपलब्ध गराउने तयारीमा छ । कार्यालयले दिने सामग्रीको प्रयोग विधि र ज्ञानको अभाव र भूगोलका कारण स्थानीयवासीलाई आगो नियन्त्रणमा समस्या हुने गरेको छ । बागलुङमा ५२६ सामुदायिक वन छन् । ३२ हजार ९८६ हेक्टरमा फैलिएको वन क्षेत्रमा मुख्य गरी १० प्रकारका वन्यजन्तु र सात प्रकारका पक्षी पाइने गरेको तथ्याङ्क वन कार्यालयसँग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७