प्रचण्ड–नेपाल नेतृत्वको नेकपा तेस्रोपल्ट निर्वाचन आयोग जाँदै

काठमाडौं, २० फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज (बिहीबार) तेस्रोपल्ट निर्वाचन आयोगको कार्यालय जाने भएको छ ।
पार्टीको आधिकारिकता माग गर्न नेकपा अध्यक्षद्वय पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधव नेपालसहित नेकपा नेताहरु आज दिउँसो २ बजे निर्वाचन आयोग जाने नेतृ पम्फा भुसालले जानकारी दिइन् ।
अहिले पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्य र सांसदहरुलाई नागरिकतासहित बोलाइएको छ । उनीहरुको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेर आयोग जाने तयारी गरिएको छ ।
यसअघि संसद विघटन भएपछि पहिलो पटक आधिकारिकता माग गर्दै आयोग गएको थियो भने दोस्रो पटक २० माघमा पुनः आधिकारिकता माग्दै आयोगमा यो समूहले पत्र बुझाएको थियो ।
तर निर्वाचन आयोगले भने नेकपा विवादको निर्णयलाई टुंगोमा लैजान आलटाल गर्दै आइरहेको छ ।
बुधबार मात्रै पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आयोगलाई नेकपा विवादको निर्णय टुंग्याउन ढिलो हुँदा निर्वाचन आयोगको साखमा नै प्रश्न उब्जिन थालेको भन्दै आयोगलाई दबाब दिएका थिए । ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित भएको छ । तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।