विप्लवलाई काठमाडौं ल्याउन हेलिकोप्टर ‘स्ट्याण्ड बाई’


प्रकाशित मिति : March 4, 2021

काठमाडौं, २० फागुन । भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काठमाडौं ल्याउन सरकार हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ राखेको छ । विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा रहेको एक उच्च स्रोतले जानकारी दिएको छ ।

दुई वर्षदेखि पूर्ण भूमिगत रहेका विप्लव कहाँ छन् भन्नेबारे भने कुनै कुरा खुलाइएको छैन । सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते सार्वजनिक हुने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

‘विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जानकारी छैन । भोलि सबै कुरा खुल्ने छ’, स्रोतले भन्यो । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टी निकट सञ्चार माध्यमहरुमा भने उनले अन्तर्वार्ता बेलाबेलामा आइरहेका छन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

आजको तीन बुँदे सहमति अनुसार विप्लव समूह हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुने, कारागारमा रहेका सबै बन्दी रिहा हुने र उनीहरुमाथिको मुद्दा समेत खारेज हुने सहमतिमा सरकार र विप्लव समूहको वार्ता टोलीबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्