आफन्तले बुझ्न मानेनन् अन्जुको शव


२० फाल्गुन २०७७, बिहीबार
4d8b98fa5b902366819cbb1a021591f4 w1000 h500 cp

काठमाडौं, २० फागुन । क्याम्पस जाँदै गर्दा बुधबार बिहान ललितपुरको नक्खुमा जीपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ की १९ वर्षीय अन्जु दाहालको क्याम्पस जाने क्रममा जीपको ठक्करबाट बुधबार बिहान ज्यान गएको थियो । स १ज ५६७ नम्बरको जीपले बिहान साढे ५ बजे नक्खुस्थित चक्रपथ सडकमा ठक्कर दिएको ललितपुर प्रहरीले जनाएको छ ।
गाडीले ठक्कर दिएर घाइते भएकी अन्जुलाई गाडी ब्याक गरेर मारेको आफन्तको आरोप छ ।

ठक्कर दिने गाडी र चालक खोटाङका प्रविण गिरीलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ जान लागेको सुमो यात्रु लिन बल्खुतर्फ गइरहेको बेला ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बुधबार र बिहीबार आफन्त र क्याम्पस प्रशासनसँग वार्ता भएको छ । तर, अहिलेसम्म सहमति नजुट्दा आफन्तले शव बुझ्न नमानेका हुन् । अन्जु कोटेश्वर क्याम्समा स्नातक पहिलो वर्षमा अध्ययनरत थिइन् । क्याम्पसले बिहीबार शोक सभा गरेको क्याम्पस प्रमुख गोविन्द कार्कीले बताए ।

क्याम्पसका शिक्षक तथा विद्यार्थीले बुधबार केही समय चक्रपथ सडक बन्द गरेका थिए भने ललितपुर प्रहरी परिसर जावलाखेल अगाडि विरोध प्रदर्शन गरेका थिए । अहिले यातायात सञ्चालक समिति र मृतका आफन्त तथा क्याम्पस प्रशासनबीच छलफल भइरहेको एसपी महर्जनले बताए । शव पोस्टमार्टमपछि पनि पाटन अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७