दूरसञ्चार प्राधिकरणका सेवा सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन आग्रह


२० फाल्गुन २०७७, बिहीबार
ROS KTM 6483441 scaled

काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् । प्राधिकरणको २३ औं वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए ।

मन्त्री गुरुङले भने, ‘दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको छ, ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको छ, अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्‍याउन जरुरी छ ।’ उनले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औंल्याए ।

फरक प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गरे । उनले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताए ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजनानुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्‍याउन निर्देशन दिए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौँ उपत्यका बाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्‍याइएको जानकारी दिए । उनले भने, ‘सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्‍याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७