सरकारको दावी विपरीत नेपालको अर्थतन्त्र पहिलो पटक मन्दीमा


२१ फाल्गुन २०७७, शुक्रबार
economy up
3d rendering of red financial arrows broke concrete floor

काठमाडौं, २१ फागुन । सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलो पटक मन्दी देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्ष (आव) को २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो ।

अर्थशास्त्रीहरूका अनुसार लगातार २ त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक बन्यो भने त्यसलाई मन्दी मानिन्छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकले मुलुक मन्दीमा गएको पुष्टि हुन्छ । स्रोतले नेपालको इतिहासमा यस्तो पहिलो पटक भएको जानकारी दिएको छ ।

गत वर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमलव ४ प्रतिशत ऋणात्मक थियो । चालू आव २०७७–७८ को पहिलो त्रैमासमा समेत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको तथ्यांकले देखाएको छ ।

गत आवको चौथो त्रैमासमा अर्थतन्त्र व्यापक रूपमा संकुचन हुँदा गत आवको कुल गार्हस्थ्य उत्पादन १ दशमलव ८८ प्रतिशतले संकुचित आएको छ । केन्द्रीय तथ्यांक विभागले आधार वर्ष २०००–२००१ लाई परिवर्तन गरेर २०१०–११ को बनाई यो तथ्यांक सार्वजनिक गरेको हो ।
अर्थतन्त्रले यति क्षति बेहोर्नु परेका कारण कोभिड महामारीले आर्थिक गतिविधिमा असर पारेकाले हो । कोरोना महामारीका कारण धेरै उद्योग बन्द रहेकाले तथा पर्यटन क्षेत्र सुस्ताएकाले आर्थिक वृद्धिदर घटेको हो ।

आधार वर्ष परिवर्तन गर्नुअगाडि नेपालको गतवर्षको कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रहेको थियो । आधार वर्ष परिवर्तन गरेपछि नेपालको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन १ खर्ब ७६ अर्बले बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

नयाँ आर्थिक क्रियाकलापलाई समेट्न आधार वर्ष परिवर्तन गर्ने गरिन्छ । विसं २०७२ मा आधार वर्ष परिवर्तन गर्ने तयारी गरिए पनि विनाशकारी भूकम्पका कारण यो पछि धकेलिएको थियो । विभागले अहिलेसम्म ५ पटक आधार वर्ष परिवर्तन गरिसकेको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७