मौनता भङ्ग गर्ने कविता संग्रह ‘चुल्ठो’ सार्वजनिक


२१ फाल्गुन २०७७, शुक्रबार
7 Shares
chultho kalpana chiluwal 11611213741 oXwaegnjKR

जिन्दगीको परीक्षार्थीलाई
मूल ग्रन्थ बेच्दैन
सन्दर्भ पुस्तक पनि बेच्दैन
केवल गेसपेपर बेच्छ
आजको बजार ।

विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको ‘चुल्ठो’ कविता सङ्ग्रहभित्रको बजारको ‘रमिताशास्त्र’ शीर्षकको कविताको अंश हो यो । साहित्यमा विम्ब र प्रतीकको अत्यधिक प्रयोग गरेर क्लिष्ट शैलीमा नभई सरल र सहज शब्दबाट बेजोड प्रहार गर्न सक्ने विद्रोही चेतकी कवि चिलुवालको चुल्ठो पहिलो कविता सङ्ग्रह हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सङ्ग्रहमा हरेक दिन हरेक परिवेश घर, परिवार, समाज र राज्य सत्ताका शासकहरुको असहिष्णु व्यवहारका भोगाइहरुको कटाक्ष कवितामार्फत उजागार गरिएको छ । कवि सरस्वती प्रतीक्षा चुल्ठो कविता सङ्ग्रहका हरेक शब्दमा दमित आवाजको रागिलो प्रहार भएको बताउँछिन् ।

‘चिलुवाल बाहिर शान्त स्वभावकी तर विद्रोही चेतकी एक हस्ताक्षर हुन्, उनका हरेक कवितामा रिस छ तर पनि त्यो रिस बेजोड सुन्दर रूपमा कवितामा उत्रिएको छ’, कवि प्रतीक्षाले भनिन्, ‘चिलुवालको जवानीमा पनि मायाको उन्माद नभई रिसको बेगले नै कविता कोरिएको छ, नारीवाद मात्र होइन अन्य धेरै वादको कोलाज कवितामा छ ।’

jagdamba.cement
rbbbb

चुल्ठोमाथि साहित्यकार सुमिनाको धारणा पनि उस्तै छ । उनका अनुसार समाज रूपान्तरणमा विद्रोहको उद्घोष गरेर निदाएको समाजलाई उठाउन सङ्ग्रहभित्रका हरेक कविता अस्त्र बनेका छन् । परिवर्तनको उद्घोष गरेका हरेक कवितामा लेखकीय दम भएको उनको भनाइ छ । साहित्यकार डा. कृष्णराज अधिकारी विम्ब र प्रतीक कम प्रयोग गरिए पनि कविताले समाजको यथार्थलाई पस्कन सफल भएको टिप्पणी गरे ।

‘समाजका कथित मूल्यमान्यताले दबाइएका आवाज चुल्ठोमा रहेको छ ।’ डा. अधिकारीले आधुनिकता र परम्पराबीचको यथार्थ, श्रमिकका दमित आवाजहरु, लाहुरेको कथा, उपभोक्तावादले मान्छेमा गरेको शोषण, वातावरणीय न्यायका सवालमा सबै पक्षबाट चुल्ठो सशक्त कविता कृति भएर उदाएको बताए ।

सङ्ग्रहका सर्जक चिलुवालले समाज रूपान्तरणका लागि सानैदेखि सशस्त्र विद्रोहमा लागे पनि कालान्तरमा समाजले अझै काँचुली फेर्न नसकेको अवस्थाले पिरोलिरहँदा तिनै मौनतामा रहेका आवाजलाई शब्दमा उतारेको बताए । ‘मैले कविता लेखेर कवि हुन चुल्ठो ल्याएकी हैन, दुई दशकदेखि म साहित्य सिर्जनामा छु । राजनीतिक चेतसँगै सामाजिक यथार्थताका मुद्दा सङ्ग्रहमा बढी केन्द्रीत छन्, सँगसँगै म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा छुटाउन भएन जुन व्यक्तिगत नभई आम महिलासँग जोडिएका छन् ।’

चिलुवालले कविता हरेक परिवेश र घटनाक्रमका साक्षी र आफ्नो समयको दस्तावेज हुने गरेको बताए । ‘यो एउटा दस्तावेज पनि हो जो वर्षौँपछि पढ्दा पनि समाजको यथार्थ बुझन सकिन्छ ।’ उनले कविताको बारेमा आम पाठक नै न्यायाधीश भएकाले यसको निर्णय गरेर फैसला सुनाउने जिम्मा पाठकलाई छोडिदिएको बताए । बेला प्रकाशनले बजारमा ल्याएको चुल्ठोमा ५५ वटा कविता सङ्गृहित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७