म्यानमारमा प्रदर्शनकारीमाथि सैन्य दमन बढ्दो, हालसम्म ५४ जना मारिए

काठमाडौं, २१ फागुन । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता कब्जामा लिएयता हिजो (बिहीबार) सम्म कम्तीमा ५४ प्रदर्शनकारी मारिएको र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ ।
बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् ।
बुधबार प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृष्यहरूमा देखाइएको छ ।

संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेका छन् ।
‘म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नु पर्छ,’ उनले भने, ‘यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूबिरूद्ध सिधै गोली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।’ एजेन्सी