विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला हिरासत मुक्त

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला आज (शुक्रबार) रिहा भएका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही समय अगाडि हिरासत मुक्त गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । आगजनी तथा संगठित अपराधको मुद्दामा उनलाई काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई श्रीमतीको जिम्मामा छाडिएको एसपी खत्रीले बताए ।
विप्लव समूह र सरकारबीचको तीन बुँदे सहमति अनुसार पक्राउ परेका सबैलाई सरकारले मुद्दा खारेज र रिहाइ गर्दैछ ।