सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर


२१ फाल्गुन २०७७, शुक्रबार
seti 1

डोटी, २१ फागुन । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

कूल ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि रु ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने वातावरण परामर्शदाता डा. ज्योतिप्रसाद गजुरेलले जानकारी दिए ।

उक्त विद्युत् निर्माण गर्नका लागि ८८४ घरधुरीमा असर पर्ने अध्ययनले देखाएको छ । सोमा डोटीका मात्रै ६५६ घर छन् भने बाँकी २२८ घर अछामका छन् । चार सय मिटर अग्लो हुने आयोजनाको बाँधले अछामकोे मङ्गलसैन नगरपालिकाका वडा नं ३, ५ र ७ चौरपाटी गाउँपालिकाका वडा नं १ र २े बोगटान फुड्सिलका वडा नं २, ५, ६ र ७ मा प्रभाव पार्ने बताइएको थियो ।

यस्तै डोटीकै केआइसिंह गाउँपालिकाका वडा नं २ र ३, दिपायल सिलगढी नगरपालिकाका वडा नं ७ र ८, पूर्वीचौकी गाउँपालिकाका वडा नं ५ र ७ मा पनि प्रभाव पर्ने जनाइएको छ । भौतिक वातावरणमा पर्ने प्रमुख असर डुबान भएको सो कार्यक्रममा जानकारी दिइएको थियो ।

डुबान क्षेत्रमा पर्ने ६६४ पक्की घर, २२० कच्ची घर, ७५६ गोठ, १० झोलुङ्गे पुल, छ खानेपानी आयोजना, १२ घाट, २० मन्दिर, चार विद्यालय, दुई हेल्थ पोष्ट, ३२ हजार ७९९ बोटबिरुवा, तीन पक्की सडक र कच्ची सडक (३५ कि.मी), सिँचाइ पाँच योजना, एक पानीघट्टमा प्रभाव पर्ने कार्यक्रममा जानकारी दिइएको बोगटान फुड्सिलका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

आयोजनाका लागि वन क्षेत्र १०४०.९ हेक्टर, निजी जमिन १८७३.५ हेक्टर (३६ हजार ८२६.४९ रोपनी ), १४६६.१२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी गराइएको छ । आयोजनाले कम्तीमा पनि एक लाख १४ हजार ६०२ प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डा. गजुरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७