प्रहरी स्कर्टिङ्गमा स्कर्पियो चढेर काठमाडौं आइपुगे ‘विप्लव’, प्रकाण्ड बालुवाटारमा


२१ फाल्गुन २०७७, शुक्रबार
Biplav

काठमाडौं, २१ फागुन । सरकारसँगै तीन बुँदे सहमति भएसँगै आज (शुक्रबार) सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रहरी स्कर्टिङ्गमा काठमाडौं आइपुगेका छन् ।

दुईवटा स्कर्पियो गाडीमा महासचिव विप्लवसहितको टोली शुक्रबार मध्यान्ह खानीखोलाबाट नागढुंगातर्फ आएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका ‘विप्लव’ ले आज एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् ।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव केहीबेरअघि काठमाडौं आइपुगेको स्रोतले जानकारी दिएको छ ।

‘सरकारले पठाउने भनेको हेलिकोप्टर अस्वीकार गर्नुभयो’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘राति आउने कुरा थियो तर आउन सक्नु भएन । अहिले बिहान नवलपुरको देवचुलीस्थित शहीद परिवारलाई भेटेर काठमाडौं आउनु भएको हो । उहाँ केही बेरअघि काठमाडौं आइपुग्नु भएको हो ।’

विप्लवले बिहान शही परिवारलाई भेटेर काठमाडौंतर्फ प्रस्थान गरेका थिए । विप्लवलाई प्रहरीले स्कर्टिङ गरेर काठमाडौं ल्याइएको थियो । काठमाडौंमा भने उनलाई काठमाडौं प्रहरीले सुरक्षा दिएको छ । त्यस्तै विप्लवका तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अहिले बालुवाटार पुगेका छन् ।

सरकार र नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएसँगै नेकपामाथि लागेको प्रतिबन्ध सरकारले हटाएको छ । प्रतिबन्ध हटेसँगै विप्लव समूहका नेताहरु सार्वजनिक हुन थालेका छन् भने हिरासतमा रहेका नेताहरुलाई पनि छाड्न थालिएको छ । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला शुक्रबार बिहान काभ्रे प्रहरीको हिरासतबाट रिहा छन् । उनी अहिले काठमाडौँ आइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७