म्यानमारमा सेनाको नरसंहारको विरोध गर्दै ललितपुरमा नागरिक अगुवाको प्रदर्शन


२१ फाल्गुन २०७७, शुक्रबार
protest in lalitpur over myanmar incident 8 iLbtAKMHkU

काठमाडौं, २१ फागुन । म्यानमारमा सत्ता कब्जा लिंदै त्यहाँको सेनाले प्रदर्शनकारीमाथि गरेको दमन र नरसंहारको विरोमा नेपालका नागरिक अगुवाहरूले आज (शुक्रबार) प्रदर्शन गरेका छन् ।

म्यानमारमा भएको नरसंहारको विरोधमा शुक्रवार नागरिक अगुवाहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा ललितपुरमा रहेको म्यानमार दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका नागरिकको साथमा छौं, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर’ लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए भने आ–आफ्नो तीन वटा औंला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठकलगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र सङ्ग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरू म्यानमारका नागरिकलाई एक्यबद्धता जनाउन सडकमा आएको बताएका छन् । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै सङ्ग्रौलाले म्यानमारका नागरिकले जित्ने पनि बताए ।

विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रूपमा देखाउन कलाकारहरूले प्रस्तुती पनि देखाएका थिए । म्यानमारमा फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा कम्तीमा ५४ जनाको ज्यान गईसकेको छ । सयौ घाइते भएका छन् भने १७ सय भन्दा बढीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७