यो धर्तीमा गाडिन्छौँ तर सहिदको सपना मर्न दिन्नौँ, झुक्दैनौँ : विप्लव


२१ फाल्गुन २०७७, शुक्रबार
netra bikram chand biplab scaled

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु फेरि मर्न तयार रहेको तर सहिदको सपना मर्न नदिने बताएका छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच शुक्रबार राष्ट्रिय सभागृहमा भएको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफूहरु बलिदानी दिएर यो माटोमा गाडिन तयार रहेको तर सहिदका सपना मर्न नदिने बताएका हुन् । उनले भने, ‘हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य छैन । हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुुक्दैनौँ ।’

‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

उनले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताए । भने, ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन । नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ । दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ ।’

विप्लवले कम्युनिस्टले विजय हासिल गरेको दिन विश्वमा शान्ति हुने पनि बताए । ‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले गर्न सक्छ। कम्युनिस्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण सांसारमा हतियार र युद्धको अन्त्य हुन्छ’, उनले भने। उत्पीडित र उत्पीडकको अत्य हुनेबेला युद्धको कुनै स्थान नरहने उनको भनाई छ ।

झापा आन्दोलनको सन्दर्भकै दिन आफ्नो पार्टीले सरकारसँग तीन बुदे सहमति गर्नु सुखद् संयोग भएको उनले बताए । ‘आज एउटा सन्दर्भको दिन छ । एउटा अँध्यारो समय, परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जंगलमा पाँच अग्रजले रगत दिएका थिए । उनीहरुले सहर्ष नेपाल र नेपाली जनताका लागि समर्पण गरेका थिए,’ उनले भने,’ त्यो दिनसँग आजको दिन जोडिएको छ । आजको दिन जसलाई हामीले सहिदको स्मरणको दिवस मनाउँदै आएका छौं ।’

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७