प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।
आज (शुक्रबार) सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको नेकपाको दाबी छ । ‘आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ,’ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे ।
आजको प्रचण्ड–माधव पक्षको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।
दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्वपूर्ण रहेको छ । उता केपी ओली पक्षले आफूहरुसँग एक सया बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।