राजीनामा नदिए प्रधानमन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड–नेपाल पक्षका ११५ सांसदको हस्ताक्षर तयार


२१ फाल्गुन २०७७, शुक्रबार
madhav nepal prachanda scaled

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । आज (शुक्रबार) को बसेको प्रचण्ड–नेपाल लक्षको संसदीय दलको बैठकपछि प्रधानमन्त्रीले त्यो भन्दा अगाडि नै राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता हुने एक नेताले बताए ।

आजको वैठकमा आफ्नो पक्षका १११ जना सांसदले स–शरीर उपस्थित भएर हस्ताक्षर गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । आफ्नो पक्षमा ११५ सांसद रहेको र विभिन्न कारणबस् योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको उनले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा केपी शर्मा ओलीलाई हटाउँदै संसदीय दलको नेता परिर्वतन गरेको हो ।

ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउछौं : प्रचण्ड
नेकपाको संसदीय दलको नेता चयन भएका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।
नेकपा संसदीय दलको नेतामा चयन भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै दाहालले ओलीले राजीनामा नदिए आउने दिन झनै असहज हुने उनले बताए ।

‘आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनः स्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो त्यति मात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौं’, उनले भने ।

उनले अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको पनि बताएका छन् । उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याउन ओलीले नै बाध्य पार्नुभयो । संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नु पर्ने हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७