प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : विप्लवले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?


प्रकाशित मिति : March 5, 2021

काठमाडौं, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न उठाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् ।

‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै, हतियार विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारबारे प्रश्न उठ्दा प्रचण्डले हतियार खोलाले बगाएको प्रतिक्रिया दिएका थिए ।
राज्यविरुद्ध हिंसात्मक आन्दोलन विप्लव नेतृत्वको नेकपासँग सरकारले सहमति गर्दा हतियार बुझाउनेबारे केही खुलाएको छैन । काँग्रेसले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिलाई भने स्वागत गरेको छ । ०२८ मा केपी–सिपी,०५२ मा प्रचण्ड–बाबुराम,अहिले विप्लव–प्रकाण्ड ‘रेड बुक’, नाम–काम र परिणाम उस्तै उस्तै भएको शर्माको भनाइ छ ।

‘नेपालको पुरै कम्युनिष्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न कम्युनिष्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?,’ उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्