कांग्रेस संसदीय दलको बैठक : ओलीको विकल्प खोज्न नेतृत्वलाई सुझाब

देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा


२२ फाल्गुन २०७७, शनिबार
Congress PP Meeting
sf7df8f}F !^ h]7 M g]sf ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; kf6L{sf] z’qmaf/ gofF afg]Zj/l:yt ;+3Lo ;+;bsf] Nxf]T;] xndf a;]sf] ;+;bLo bnsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, २२ फागुन । कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने वेला आएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन पार्टी नेतृत्वलाई सुझाब दिएका छन् । संसदीय दलको शुक्रबारको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीको विकल्प खोज्नकै लागि भए पनि अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने मत राखेका छन् ।

संसदीय दलको बैठकमा २९ जना सांसदले धारणा राखेका थिए । कतिपयले नेकपा विभाजन हुँदा कमजोर बनेको शक्तिसँग सहकार्य गर्नुपर्ने तर्क पनि गरे । तर, नेतृत्वले भने अहिले अविश्वासको प्रस्ताव लैजाने स्थिति नरहेको जवाफ दिएको छ ।

ओलीलाई पुनस्र्थापित प्रतिनिधिसभामा प्रधानमन्त्रीका रूपमा स्विकार्न नसकिने, शासन गर्ने नैतिकता गुमाइसकेको र ओलीको विकल्प खोज्न कांग्रेसले नै अग्रसरता लिएर अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्नेमा उनीहरूको जोड छ ।

‘आफैले विघटन गरेको प्रतिनिधिसभामा ओलीले प्रधानमन्त्रीका रूपमा काम गरिरहन मिल्दैन । यो संसद्ले ओलीलाई प्रधानमन्त्री मान्नु हुँदैन । उनलाई हटाउन हामीले चाल्नुपर्ने कदम चाल्न तयार हुनुपर्छ । यही बैठकबाट आधिकारिक रूपमा ओलीको राजीनामा मागौँ,’ सांसद गगन थापाले भनेका थिए । थापाले ओलीको विकल्प खोज्नुपर्ने, तर सरकारमा जान नहुने भनेका थिए ।

सांसद भरतकुमार शाहले ओलीले राजीनामा दिन अटेरी गरे कांग्रेसले अग्रसरता लिएर उनलाई हटाउनुपर्ने धारणा राखेका थिए । ‘ओलीको कदमलाई पार्टीले असंवैधानिक भनेर आन्दोलन नै गरेको हो । अब अदालतले पनि उनलाई गलत साबित गरेको छ । यस्तो अवस्थामा ओलीले आफै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो । उनले अटेरी गरेको हो भने हामीले विकल्प खोज्नुपर्छ । यसमा पार्टीले अग्रसरता लिनुपर्छ,’ शाहको भनाइ थियो ।

त्यसैगरी, सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीका रूपमा संसद्मा प्रस्तुत हुने आधार गुमाएका ओलीको विकल्प खोज्नुपर्ने बताए । ‘ओलीले शासन गर्ने आधार आफैले गुमाइसके । राजनीतिक, संवैधानिक र नैतिक सबै हिसाबले उनी गलत साबित भइसके । अब उनलाई प्रधानमन्त्रीका रूपमा संसद्मा प्रस्तुत हुने आधार के छन् ? त्यसैले ओलीको विकल्प खोज्नुपर्छ,’ प्रधानको भनाइ थियो, ‘तर, सरकारमा जाने वा नजाने भन्ने विषयमा चाहिँ पार्टीको केन्द्रीय समितिमा छलफल गरेर मात्रै निर्णय गरौँ ।’

डा. डिला संग्रौलाको भनाइ थियो, ‘कांग्रेसले ओली सरकारको कदमलाई असंवैधानिक भनेर विरोध गर्ने, अनि उनैसँग सहकार्य गरेर जाने कुरा कसरी सम्भव हुन्छ ? ओलीलाई अदालतले गलत साबित गरिसकेको छ । त्यसैले अहिले ओलीसँग सहकार्य गर्नै हुँदैन । ओली सरकारको विकल्प खोज्नुपर्छ ।’

दिव्यमणि राजभण्डारीले प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसले विकल्प खोज्नुपर्ने बताए । ‘सरकारले विधिविधान मिचेकै हो । हामीले सरकारको कदमलाई असंवैधानिक भनेकै हौँ । यति भनिसकेपछि अब ओलीसँगै सहकार्य गर्नु हुँदैन । प्रमुख प्रतिपक्षको हैसियतले यसको विकल्प खोज्नुपर्छ,’ उनले भने ।

अर्का सांसद रमेशजंग रायमाझीले अहिलेको अवस्थामा कांग्रेसले आफै अविश्वासको प्रस्ताव समेत लैजाने हिम्मत गर्नुपर्ने बताए । ‘ओली सरकारको असंवैधानिक कदमको विरोध गरेका हौँ । त्यसैले अब ओलीको विकल्प खोज्नुपर्छ । सत्तारुढ दलले काम गर्न नसकेको अवस्थामा हामीले सरकारको नेतृत्व गर्न सक्नुपर्छ,’ उनले भने, ‘सत्तारुढ दलले सरकार चलाउन नसकेको अवस्थामा कांग्रेस तयार हुनुपर्छ । कांग्रेसले आफैँ अविश्वासको प्रस्तावसमेत लैजाने हिम्मत गर्नुपर्छ । अराजक र गैरजिम्मेवार ओली सरकारको विस्थापन नभएसम्म देशले निकास पाउँदैन ।’

अधिकांश सांसदले समान धारणा राखेको सुनाउँदै सांसद प्रकाश रसाइली स्नेहीले भने, ओलीसँगको सहकार्य असम्भव छ, उनको कुकृत्यमा कांग्रेसले साझेदारी गर्नु हुँदैन, उनीसँग मिल्नु हँुदैन, उनको विकल्प खोज्नुपर्छ ।’

सांसदहरूले प्रचण्ड–माधव समूहसँग मिलेर नयाँ सरकारमा जानुपर्ने धारणा पनि राखेका थिए । ‘कि बहुमतबाहेक सरकारमा जानुहुँदैन भनेर घोषणा गर्नुपर्‍यो । होइन भने कांग्रेसले सरकारको नेतृत्व लिएर सरकारमा जानुपर्छ,’ अधिकांश सांसदको भनाइ उद्धृत गर्दै अर्का एक सांसदले भने ।

सभापति देउवाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले पक्ष वा विपक्षसँग सहकार्यका लागि निर्णय लिन नहुने बताए । ‘अहिले हतार नगरौँ । पहिले नेकपाको विवादको कुरा टुंगियोस् । अहिल्यै पक्ष वा विपक्षको कुरा गर्ने वेला भएको छैन । अझै पनि नेकपा मिल्ने र हामीले प्रतिपक्षीकै भूमिका प्रभावकारी बनाउनुपर्ने पनि हुन सक्छ । पार्टीभित्रै कोही अविश्वासको प्रस्ताव लैजाने, कोही पार्टी एकता गर्ने भनेर हिँडेका छन् । त्यसकारणले अझै पर्खेर हेरौं, उपयुक्त समयमा सल्लाह गरेर निर्णय गरौँला,’ बैठकमा देउवाले भनेका थिए ।

बैठकमा सबै सांसदको धारणा, सुझाब र विचार लिइए पनि सरकार गठनका विषयमा कुनै निर्णय नभएको प्रमुख सचेतक बालकृष्ण खाणले बताए । ‘संसद्को बैठक प्रारम्भ भइसकेपछि सत्तारुढ दल कसरी प्रस्तुत हुन्छ त्यस आधारमा संसद्लाई नियमित रूपमा सञ्चालन गर्न, मुलुकका समस्यालाई निकास दिन, संविधानलाई बलियो बनाउन, संसदीय अभ्यासलाई सुदृढ गराउन कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ,’ प्रमुख सचेतक खाणले भने ।

सहमहामन्त्री डा. प्रकाशशरण महत कांग्रेसले अहिले अविश्वासको प्रस्ताव लैजाने स्थिति नरहेको बताए । ‘हामीले अविश्वासको प्रस्ताव लैजाने कुरा हुँदैन । अहिलेसम्म कम्युनिस्ट पार्टी एउटै छ । उहाँहरू मिलेर जान पनि सक्नुहुन्छ । त्यसैले कांग्रेसले हचुवामा निर्णय गरेर जोकर बन्ने कुरा हुँदैन,’ महतले नयाँ पत्रिकासँग भने । महतले नेकपा विभाजनको वैधानिकता नआएसम्म वा संसद्मा प्रक्रिया अघि बढेको अवस्थामा परिस्थिति हेरेर निर्णय गर्ने बताए ।

कांग्रेस संसदीय दलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको फैसलालाई स्वागत गरेको छ । ‘यो संविधान र लोकतन्त्रवादको विजय हो । न्यायपालिकाको निर्णयलाई सम्मान गर्दै कांग्रेस हार्दिक स्वागत गर्दछ,’ प्रमुख सचेतक खाणले भने ।

बैठकमा बोल्न चाहने सबै सांसदले बोले । तर, महामन्त्री डा. शशांक कोइराला, सांसद डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायत बोलेनन् । सांसद प्रकाशमान सिंह भने अनुपस्थित थिए । बैठकमा देउवाले सरकार गठनका विषयमा जथाभावी धारणा नराख्न र तत्काल काठमाडौंबाहिर नजान समेत सांसदलाई निर्देशन दिए ।

देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा

कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् । शुक्रबार सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बनिदिनुस् भनेर आफूहरू कतै नहिँडेको र हिँड्दा पनि नहिँड्ने बताए ।

‘एउटा अलिकति भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौँ, उसलाई प्रस्ताव राख्यौँ भनेर । हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौँ । प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौँ, राख्दा पनि राख्दैनौँ ।’

ओलीले प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा पनि आक्रोश पोखे । दुईतिहाइ फोडेर अरूसँग प्रधानमन्त्री पद खाइदेऊ भन्दै प्रचण्ड–नेपाल पक्ष हिँडेको ओलीको आरोप छ । ‘आफ्नो दुईतिहाइ फोडेर छाड्ने, भाँडेर छाड्ने, भत्काएर छाड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छाड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न, खाइदिनुस् भन्न अन्त जाने ?’ ओलीले भने ।

सिंहदरबारमा भएको प्रचण्ड–नेपाल पक्षको दलको बैठकलाई लक्षित गर्दै ओलीले भने, ‘संसदीय दलको बैठक गर्दै छन् भन्ने सुनेको थिएँ । कुन दलको थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन, उहाँहरू लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरू देखेर अचम्म लाग्छ पनि, लाग्दैन पनि । किनभने उहाँहरू त्यस्तै हो । त्यसकारण अचम्म पनि लाग्दैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७