देउवालाई प्रधानमन्त्री अफर नगर्ने ओलीको घोषणा


२२ फाल्गुन २०७७, शनिबार
kp oli2021 03 06 06 39 02

काठमाडौं, २२ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् ।

शुक्रबार सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बनिदिनुस् भनेर आफूहरू कतै नहिँडेको र हिँड्दा पनि नहिँड्ने बताए । ‘एउटा अलिकति भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौँ, उसलाई प्रस्ताव राख्यौँ भनेर । हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौँ । प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौँ, राख्दा पनि राख्दैनौँ ।’

ओलीले प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा पनि आक्रोश पोखे । दुईतिहाइ फोडेर अरूसँग प्रधानमन्त्री पद खाइदेऊ भन्दै प्रचण्ड–नेपाल पक्ष हिँडेको ओलीको आरोप छ । ‘आफ्नो दुईतिहाइ फोडेर छाड्ने, भाँडेर छाड्ने, भत्काएर छाड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छाड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न, खाइदिनुस् भन्न अन्त जाने ?’ ओलीले भने ।

सिंहदरबारमा भएको प्रचण्ड–नेपाल पक्षको दलको बैठकलाई लक्षित गर्दै ओलीले भने, ‘संसदीय दलको बैठक गर्दै छन् भन्ने सुनेको थिएँ । कुन दलको थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन, उहाँहरू लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरू देखेर अचम्म लाग्छ पनि, लाग्दैन पनि । किनभने उहाँहरू त्यस्तै हो । त्यसकारण अचम्म पनि लाग्दैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७