ओली समूहको संसदीय दलको वैठक बस्दै, प्रधानमन्त्रीले बामदेवलाई पनि बोलाए


२२ फाल्गुन २०७७, शनिबार
oli bamdev 20200729094735

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाको संसदीय दलको वैठक आज (शनिबार) बालुवाटारमा बस्दैछ ।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज (शनिबार) उनीतर्फको संसदीय दलको बैठक बस्न लागेको हो ।

हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट बर्खास्त गर्दै उनको ठाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ । प्रचण्ड–नेपाल पक्षले आफ्ना पक्षमा ११५ सांसद रहेको दाबी गरेको छ । उता ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ ।

आज बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि निमन्त्रणा गरेका छन् । शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रधानमन्त्री ओलीले आजको संसदीय दलको बैठकमा आउन आग्र गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरे लगत्तै विभाजित नेकपाका प्रचण्ड–नेपाल तथा ओली कुनै पनि समूहमा नलागी साविक नेकपाका उपाध्यक्ष गौतम पार्टी एकता अभियानमा लागेका छन् ।

उनले आफू अझै पनि एकताको पक्षमा रहेको बताउँदै ओली र प्रचण्ड–नेपाललाई मिलाई छाड्ने बताउँदै आएका छन् । ओली समूहको आजको संसदीय दलको वैठकमा एकता अभियानमा रहेका बामदेव उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७