अफगान युद्धमा मारिएका गोर्खा सैनिकका परिवारमाझ ह्यारी


५ भाद्र २०७४, सोमबार
prince harry nepal 2 1

prince harry nepal 3 1

पोखरा :बेलायती राजकुमार ह्यारीसँगको प्रत्यक्ष भलाकुसारीबाट अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका परिवारजन हर्षित भएका छन्।

लामाचौरस्थित ‘गोर्खा ब्रिटिस क्याम्प’ पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ह्यारीले गोर्खा सैनिकका परिवाजनसँग भलाकुसारी गरे। अफगानिस्तानको युद्धमा आफ्नो छोरा गुमाएकी उदयपुरकी रेनुका राईले राजकुमार ह्यारीसँग प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित बनेको बताइन्।

अफगानिस्तानको युद्धमा आफ्नो छोरा रेमन्द खुलुन्द राईको ज्यान गुमाएको बताउँदै उनले ह्यारीसँगको भेटमा आफूले सो कुरा अवगत गराएकी थिइन्। ‘छोराको मृत्युपछि बुहारी अर्कैसँग विवाह गरेका कारण आफ्नो छोराले पाएको ‘मेडल’ आमाका नाताले आफूले नै राख्न पाउनुपर्ने र निवृत्तिभरणको अधिकार पनि आफूले पाउनुपर्ने जस्ता विषयमा बिन्तीपत्र चढाएको छु,’ राईले भनिन्।

 

prince harry nepal 2 1

अफगान युद्धमा ज्यान गुमाएका खोटाङ निवासी युवराज राईका ७५ वर्षीय खड्गबहादुर राई पनि ह्यारीसँग प्रत्यक्ष भेट गर्न पाउँदा निकै खुसी भए। बेलायती सेनामा भर्ना भएको आठ वर्षमा युद्धमा ज्यान गुमाएका राईको ७२ वर्षीय आमा इन्द्रदेवी राईले पनि ह्यारीसँग भेटेर सन्तोष मानिन्। भेटमा राजकुमार ह्यारीले गोर्खा सैनिकका परिवारका सदस्यको दिनचर्यालगायत विषयमा चासो दिएर जानकारी लिए।

अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्वु, सचिन लिम्वु, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए। ह्यारीलाई भेट्ने ९३ वर्षीय कर्णेल जेपी क्रसले ३५ वर्ष अघि ह्यारीका बुबाको नेपाल भ्रमणको ‘कमाण्डिङ’ गरेको स्मरण गर्दै साढे तीन दशकपछि राजकुमारलाई भेट्न पाउँदा आफूलाई खुसी लागेको सुनाए।

आफूले लेखेको एक पुस्तक राजकुमार ह्यारीलाई दिनसमेत भ्याएको उल्लेख गर्दै उनले भने, ‘ह्यारी त अग्लो र ठूलो जीउको हुनुहुँदो रहेछ।’ ह्यारीलाई भेटेका रेजिमेन्टल एसोसिएसन नेपालका अध्यक्ष कास्कीका सेनानी भीमबहादुर गुरुङले एसोसिएसनका तर्फबाट आफूहरुले ह्यारीलाई भेट्ने अवसर पाएको बताए। उनले भने, ‘राजकुमार आफै अफगानिस्तानमा बस्दा गोर्खालीसँग निकै नजिक हुनुहुन्थ्यो।’

एसोसिएसनका महासचिव बालकृष्ण रानाले अफगानिस्तान र इराकको ‘अपे्रसन ह्यारिक’मा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका आफन्तलाई सहानुभूति प्रकट गर्न र वीर गोर्खा सैनिकको सम्मानका लागि ह्यारी पोखरा आउनुभएको जानकारी दिए। रानाले भने, ‘ह्यारी गोर्खालीको वीरता र कुशलताबाट निकै प्रभावित हुनुभयो।’

पोखरा विमानस्थल झरेका ह्यारीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायत अधिकारीले स्वागत गरे। ह्यारी आउने खबर सुनेका धेरै स्थानीयवासीले पोखरा विमानस्थलबाट बिट्रिस क्याम्पसम्म जाँदा ‘हाई ह्यारी’ भन्दै स्वागत गरिरहेका थिए भने फर्कदा ‘वाई ह्यारी’ भन्दै हात हल्लाएका थिए। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको नेपाल भ्रमण भएको हो। रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७