मलाई प्रधानमन्त्री हुने चाहना छैन : देउवा


२२ फाल्गुन २०७७, शनिबार
deuwa

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

आज (शनिबार) बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तक विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् ।

‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन’, उनले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।’

केहि दिनअघिको एक कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आइपरे पछि नहट्ने बताएका थिए । यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकोले कांग्रेस सडकमा प्रस्तुत नभएको पनि उनले दाबी गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकाले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो । यसकारण भोलि संसदीय व्यवस्था नै चल्दैन ।’

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ । नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।

नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् । सभापति देउवालाई नेकपा दाहाल–नेपाललाई सहयोग गरेर आफू सरकार बाहिरै बस्नुपर्ने अधिकांश सांसदले सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७