मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण अन्तिम चरणमा


२३ फाल्गुन २०७७, आईतवार
Melamchi 2 scaled

काठमाडौं, २३ फागुन । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवर्क्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

हेडवर्क्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवर्क्स’ को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार विदेशबाट ‘हाइड्रो मेकानिकल’ सामग्री आउन बाँकी छ । उनले भने, ‘बाहिरबाट आउनुपर्ने सामान आएपछि जोडेर सञ्चालन गरिनेछ ।’

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडवर्क्स’ निर्माण गरेको हो । आयोजनाअन्तर्गत सुरुङ, हेडवर्क्स र सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्रको निर्माण भएको छ ।

सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएकाले सुरुङबाट पानी काठमाडौँ ल्याइएको छ । तत्कालका लागि ‘हेडवर्क्स’ सम्पन्न नभएकाले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको प्रवक्ता पन्तले जानकारी दिए । उनले भने, ‘अबको केही महिनामा नै हेडवर्क्स सम्पन्न भएर त्यसबाट पानी पथान्तरण गर्न सकिनेछ ।’

यही फागुन १० गते अम्बाथानबाट पानी सुरुङभित्र पठाइएकामा शनिबार सुन्दरीजल आइपुगेको छ । अबको केही दिनसम्म सुरुङ परीक्षण गर्ने आयोजनाले जनाएको छ । सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए । सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उनको भनाइ छ । उनले भने, ‘ठूलो चुहावट नभएमा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७