प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावको ‘त्रास’


२३ फाल्गुन २०७७, आईतवार
kp oli scaled

काठमाडौं, २३ फागुन । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज (आइतबार) बस्दै छ ।
गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनर्स्थापित गरिदिएको थियो । संसद पुनर्स्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले आदेश दिएकाले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापितको घोषणापछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्री ओलीमाथि दबाब रहे पनि उनले राजीनामा दिएका छैनन् । प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने र विश्वासको मत पनि नलिने मनस्थिति बनाएका छन् । हिजोको नेकपाको ओली समूहको संसदीय दलको बैठकले पनि यही निर्णय गरेको थियो । प्रधानमन्त्रीले संसदको सामना गर्ने बताए पनि उनका लागि यो त्यति सहज भने छैन ।

त्यसैले प्रधानमन्त्रीमा अविश्वासको प्रस्ताव आइ हाल्ला कि भन्ने भय भने छ । संसदमा अविश्वासको प्रस्ताव आए वैठक अवरुद्ध बनाउने ओली समूहको राणनीति रहेको छ ।
यस्तै नेकपाको प्रचण्ड–नेपाल समूहले बैठक बस्नुअघि राजीनामा नदिए अविश्वासको प्रस्तावमार्फत हटाउने बताउँदै आएको छ ।

अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री ओलीलाई हटाउन अरु दलको सहयोग आवश्यक पर्ने र अरु दलले अहिले नै निर्णय नगरिसकेकाले आज नै अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेमा प्रचण्ड–नेपाल समूहले निर्णय गरिसकेको छैन । अहिलेसम्मको अवस्थामा नेकपाका दुवै समूह एक–अर्काको रणनीति नियाल्ने अवस्थामै देखिएका छन् ।

नेपाली कांग्रेसले नेकपा विभाजित नभएसम्म कुनै एउटा गुटलाई मात्रै समर्थन गरेर अघि बढ्न नसक्ने प्रतिक्रिया दिँदै आएको छ । तेस्रो ठूलो दल जसपाले पनि निर्णय गरिसकेको छैन । अविश्वासको प्रस्ताव फेल भयो भने तत्काल फेरि अर्को अविश्वासको प्रस्ताव पेस गर्न नमिल्ने भएकाले आज नै प्रस्ताव पेस हुनेबारे अन्योल छ ।

आजको कार्यसूचीमा यो विषय भने समावेश भएको छैन । आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची प्रस्ताव गरिएको छ । यसअघि नै प्रतिनिधिसभाका ३८ र राष्ट्रियसभाका २५ विद्येयक अड्किएर बसेको छ । तर विधेयकहरुमाथि छलफलमा भन्दा सत्ता गठबन्धनको मुद्दाले बैठकमा प्राथमिकता पाउने देखिएको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भए पनि कानुनी रुपमा अहिलेसम्म विभाजित नभइसकेकाले आजको संसद बैठकमा दुवै समूहका सांसदहरु सत्ता पक्षकै बेन्चमा बस्नेछन् । दल विवादका कारण फरक–फरक ठाउँमा बस्ने भन्ने नहुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७