संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गर्न खोजेपछि कांग्रेसद्वारा संसद बैठकमा नाराबाजी


२३ फाल्गुन २०७७, आईतवार
sam

काठमाडौं, २३ फागुन । सरकारले ल्याएको अध्यादेशहरु संसदमा पेश गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै प्रतिनिधि सभामा नाराबाजी गरेको छ ।

सरकारले प्रतिनिधि सभा भंग गरी अध्यादेशबाट देश चलाउन खोजेको र सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेकाले ती अध्यादेशहरु सदनमा पेश हुन नसक्ने जिकिर गर्दै कांग्रेसले नाराबाजी गरेको हो ।

सरकारले सदनमा अध्यादेश पेश गर्ने होइन फिर्ता लिनुपर्ने भन्दै कांग्रेस सांसदहरुले वेल घेर्न पुगेका थिए । वेल घेर्नुपूर्व कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुषालले सरकारले ल्याएको अध्यादेश असंवैधानिक भएकाले फिर्ता लिनुपर्ने र सदनमा पेश गर्न नदिने बताएका थिए ।

त्यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो ।

बैठकबाट बाहिरिनु पूर्व उक्त समूहका सांसद भीम रावलले सभामुखले सहमति विपरीत सदन चलाउन खोजेको भन्दै त्यस्तो भए बैठक बहिष्कार गर्ने जनाएका थिए । रावलले बोले लगत्तै सभामुखले बैठक सुचालु गर्न खोज्दा आपत्ति जनाउँदै पूर्व प्रधानमन्त्री एवं सांसदहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरु बाहिरिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७