मालपोत कर्मचारीको मिलेमतोमा अर्काको एक रोपनी चार आना जग्गा बिक्री, १२ पक्राउ

जग्गाधनी विदेशमा, नक्कलीधनी बनाएर जग्गा बिक्री


२४ फाल्गुन २०७७, सोमबार
pakrau2021 03 08 06 35 23

काठमाडौं, २४ फागुन । मालपोत कर्मचारीको मिलेमतोमा जग्गा दलालले नक्कली कागजात बनाई काठमाडौंको थानकोटमा एक रोपनी चार आना जग्गा बिक्री गरेको खुलेको छ । विदेशमा रहेका जग्गाधनीको नक्कली कागजात बनाई सो जग्गा एक करोड सात लाख रुपैयाँमा बिक्री गर्न सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारी पक्राउ परेपछि यो तथ्य सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार मिलेमतोमा जग्गा बिक्री गर्ने कलंकीस्थित मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पंगेनी पक्राउ परेका हुन् । उनीहरूले धादिङ–५ पतेनीका बालप्रसाद भट्ट र काभ्रे पनौतीका पुण्यप्रसाद काफ्लेलगायतसँगको मिलेमतोमा थानकोटस्थित मीना खड्काको नाममा रहेको जग्गा बिक्री गरेका थिए ।

अनुसन्धानका क्रममा पक्राउ परेका अधिकृत दाहाल र नासु श्रेष्ठ चार–चार लाख र खरिदार पंगेनी एक लाख रुपैयाँ धरौटीमा हिरासतमुक्त भइसकेका छन् । उनीहरूसँगै पक्राउ परेका भट्ट, काफ्लेसहितका नौजना प्रहरी हिरासतमा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले विदेशमा रहेका जग्गाधनीको नाममा नक्कली कागजात बनाई जग्गा बिक्री गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको बताए । ‘विदेशमा रहेका व्यक्तिको नाममा रहेको जग्गा बिक्री गरेको देखियो । यसका लागि सम्पूर्ण कागजात नक्कली बनाइएको रहेछ । सो कार्यमा मालपोतकै कर्मचारी संलग्न रहेछन् । अनुसन्धानका क्रममा सबै पक्राउ परे । अनुसन्धान जारी छ,’ उनले भने ।

जग्गाधनी विदेशमा, नक्कलीधनी बनाएर जग्गा बिक्री
प्रहरीका अनुसार बिक्री गरिएका जग्गाका धनी खड्का बेल्जियममा बस्छिन् । उनी विदेशमा रहेको सुइँको काफ्ले र भट्टले पाएका थिए । त्यस लगत्तै उनीहरूले खड्काको नाममा रहेको जग्गाको नक्कलीधनी खडा गर्ने र उनकै नाममा किर्ते कागजात बनाई बिक्री गर्ने योजना बनाए । उनीहरूको योजनालाई मालपोत कार्यालय कलंकीका अधिकृत दाहाल, नासु श्रेष्ठ र खरिदार पंगेनीले सहयोग गरे ।

‘जग्गाधनी खड्का विदेशमा बस्ने रहिछिन् । त्यसको सुइँको पाएपछि काफ्ले र भट्टले नक्कलीधनी खडा गरे । कागजात बनाए । र, एक करोड सात लाख रुपैयाँमा बिक्री गरेछन्,’ काठमाडौं परिसर प्रमुख सिंहले भने, ‘नयाँ जग्गाधनीले संरचना बनाउन खोज्दा धनीलाई नै थाहा नदिई बिक्री भएको खुल्यो । जाहेरी परेपछि अनुसन्धान गर्दा यस्तो धन्दामा गिरोह नै संलग्न रहेको पाइयो ।’

प्रहरीका अनुसार नक्कली कागजातका आधारमा जग्गा खरिद गर्ने भक्तपुर थिमि–४ का कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठ हुन् । उनीहरूले ७२ लाख रुपैयाँमा जग्गा खरिद गरेका थिए । सोही जग्गा उनीहरूले काभ्रे धुलिखेलका कुमार दाहाललाई बिक्री गर्न खोजेका थिए । यसका लागि उनीहरूले दाहालसँग बैनाबापत ३५ लाख रुपैयाँ समेत लिइसकेका थिए । दुई पक्ष गरी घटनाका मुख्य योजनाकार मानिएका काफ्ले र भट्टको टोलीले एक करोड सात लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

संगठित तवरले नक्कली धनीपुर्जा र कागजात बनाई जग्गा बिक्री गरिएकाले संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । ‘घटनामा १२ जना संलग्न छन् । उनीहरूले चलाखीपूर्ण तवरले योजना बनाई जग्गा बिक्री गरेको देखिन्छ । उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान हुँदैछ,’ उनले भने ।

यसरी गरियो नक्कली धनी खडा
म्याग्दी बरन्जाकी मीना खड्का बेल्जियम बस्दै आएकी छिन् । उनले केही वर्षअघि थानकोटमा एक रोपनी चार आना जग्गा खरिद गरेकी थिइन् । खड्का विदेशमा बस्ने सुइँको भट्ट र काफ्लेले पाए । नक्कली कागजात खडा गरेर जग्गा सुटुक्क बिक्री गर्ने निष्कर्षमा उनीहरू पुगे । दुईबीच काम बाँडफाँड भयो । जग्गाका नक्कलीधनी र मालपोतमा सेटिङ मिलाउने जिम्मा काफ्लेले लिए । त्यसका लागि आवश्यक किर्ते कागजात बनाउने जिम्मेवारी भट्टले पाए ।

योजनाअनुसार नै काफ्ले जग्गाको विवरण बुझ्न मालपोत कार्यालय कलंकी पुगे । यसका लागि कार्यालयका अधिकृत दीपक दाहालसँग्र प्रस्ताव राखे । राम्रै रकम पाउने भएपछि दाहाल पनि सहमत भए । जग्गाको सम्पूर्ण विवरण उनैले काफ्लेलाई दिए ।

काफ्ले अब जग्गाको नक्कलीधनी खोज्न लागे । यसका लागि चिनजानकै विजयप्रकाश सुनुवारलाई प्रस्ताव गरे । सुनुवारले लक्ष्मी घतानीलाई मीना खड्का बनिदिन प्रस्ताव गरे । उनको दाजुको भूमिका निभाउन इन्द्रबहादुर खत्रीलाई भनियो । रकम पाउने प्रलोभनपछि दुवै राजी भए । अब लक्ष्मीको नाममा दुरुस्त देखिने गरी जग्गाको धनीपुर्जा बनाउनुपर्ने भयोे । यसका लागि भट्टले विजयकुमार खड्कालाई भने । उनले सो प्रस्ताव कृष्णबहादुर दर्लामीसँग गरे । उनै दर्लामीले जग्गाधनी मीना खड्काको नाममा नक्कली नागरिकता र धनीपुर्जा बनाई दिए । फोटो भने लक्ष्मी घतानीको टाँसे ।

अब जग्गा बिक्री गर्ने ग्राहकको खोजीमा उनीहरू लागे । यसका लागि मनग्गे रकम खर्च गर्न सक्ने, तर कानुन नबुझेको व्यक्ति आवश्यक थियो । खोज्दै जाने क्रममा उनीहरूको भेट भक्तपुर थिमिका कृष्णगोपाल श्रेष्ठसँग भयो । सोचेझै ग्राहक फेला परेपछि सस्तोमा जग्गा खरिद गर्न उनीसमक्ष प्रस्ताव राखे । श्रेष्ठ परिवारका सदस्यसहित जग्गा हेर्न थानकोट पुगे । जग्गा मन परेपछि जग्गाधनी भेटौं भने । उनीहरूले ‘मीना खड्का उनै हुन्’ भन्दै लक्ष्मी घतानीसँग श्रेष्ठको भेट गराइदिए ।

खड्काको सहोदर दाजु भनेर उनीहरूले फेरि इन्द्रबहादुर घलेलाई अघि सारे । सस्तोमा जग्गा खरिद गर्न पाउने प्रलोभनमा श्रेष्ठ परिहाले । उनले ७२ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भयो । त्यति रकम आफूसँग नभएपछि भाइभतिजासँग जग्गा खरिदको प्रस्ताव गरे । सबै उनको प्रस्तावमा राजी भए । र, जग्गा खरिद गर्न मञ्जुर भए ।

नक्कली कागजातका आधारमा बैंकमा खाता
जग्गा बिक्रीपछि प्राप्त रकम जम्मा गर्न पनि उनीहरूले किर्ते कागजात नै प्रयोग गरे । सोही कागजातका आधारमा मीना खड्काको नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोले । मीना खड्का बनेकी लक्ष्मी घतानीले पछि उक्त रकम सबै झिकिन् र लगेर काफ्लेलाई दिइन् ।

यसरी आएको रकम जम्मा गर्न काफ्लेले रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पदम काफ्लेको नाममा फरक–फरक बैंक खाता खोलेका थिए । यसका लागि उनले फरक–फरक नागरिकता बनाएका थिए । रकम झिक्न पनि उनले सहयोगी प्रयोग गर्थे । उनलाई प्रहरीले ललितपुरको गोटीखेलबाट पक्राउ गरिसकेको छ । घटनाको अनुसन्धानमा संलग्न परिसरका डिएसपी राजकुमार केसीका अनुसार काफ्ले र भट्टलाई सघाउने विजय खड्का, इन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, विजयप्रकाश सुनुवार, लक्ष्मी घतानी, कृष्णबहादुर दर्लामी, कृष्ण कटुवाललाई पक्राउ परेका छन् ।

जग्गा बिक्रीमा संलग्न अभियुक्तका अन्य अपराध

–पुण्यप्रसाद पौडेल, इन्द्रबहादुर घले र बालप्रसाद भट्टले चितवन शिवनगर–४ की दुर्गा थापाकोे नाममा रहेको दुई कट्ठा १० धुर जग्गाको नक्कली धनीपुर्जा र नागरिकता बनाई बिक्री गर्ने तयारी ।
–पौडेल, घले र भट्टले सुनसरी धरान–८ की इन्दिरा राईको भक्तपुर दुवाकोटमा रहेको सात आना तीन पैसा जग्गाको नक्कली धनीपुर्जा र नागरिकता बनाई ४३ लाख ५० हजार रुपैयाँमा विजयलक्ष्मी श्रेष्ठ र रत्नकेशरी श्रेष्ठलाई बिक्री गरेको ।
–पौडेल, घले र भट्टले मोरङ मधुमल्ला–९ की रितादेवी माझीको नाममा भक्तपुर दुवाकोटमा रहेको ६ आना जग्गा नक्कली नागरिकता र धनीपुर्जा बनाई ४९ लाख रुपैयाँमा विजयलक्ष्मी श्रेष्ठ र रन्नकेशरी श्रेष्ठलाई बिक्री गरेको । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७