महिला म्याराथनमा धादिङकी रसिला प्रथम


२४ फाल्गुन २०७७, सोमबार
KrishnaNeupane Damauli 24 womanmarathonphoto2 scaled

तनहुँ, २४ फागुन । तनहुँको व्यास नगरपालिका कार्यालयद्वारा दमौलीमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगितामा धादिङका २१ वर्षीया रसिला तामाङ प्रथम भएकी छिन् ।

दमौलीको व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको करीब २१ किलोमिटर दूरीको दौडमा उनले एक घण्टा ४९ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम भएकी हुन् ।

त्यसैगरी खोटाङ अ‍ैसेली गाउँपालिकाकी प्रिया राईले एक घण्टा ४९ मिनेट एक सेकेण्डमा पार गर्दै द्वितीय, सोलुखुम्बुकी अनिता राईले एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा पार गरी तृतीया भएकी छिन् । त्यसैगरी चौथो नेपाली सेना कालिकोटकी विषेशता ऐडी, पाँचौं भानु माध्यमिक विद्यालयकी विद्यार्थी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट छैटाँै, भक्तपुरकी आइसा श्रेष्ठ सातौं र ओखलढुङ्गाकी पद्मकुमारी सुनुवार आठौं भए ।

प्रतियोगितामा विजयी हुनेले प्रथम पुरस्कार रु ४१ हजार ७७, द्वितीय पुरस्कार रु ३१ हजार ७७ र तृतीय पुरस्कार रु २१ हजार ७७ प्रदान गरिएको छ । त्यसैगरी पाँच जनालाई रु ११ हजार ७७ का दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशीलगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिन् ।

नगरपालिकाले खेलकूदका माध्यमबाट पर्यटन प्रवर्धन क्षेत्रको विकास गर्ने उद्देश्यले पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । केही समयअघि मात्रै नगरपालिकाले व्यास–५ मानहुँकोटदेखि शहीदग्राम पुलिमराङसम्मको करीब ४२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७