कर्णालीमा हिमपातले हवाई उडान अवरुद्ध, खोप कार्यक्रम प्रभावित


२४ फाल्गुन २०७७, सोमबार
korona khop 1

हुम्ला, २४ फागुन । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ ।

आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् ।

जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए । बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।

अग्लो स्थानमा हिमपात धेरै भएको छ । मानिस हिउँमा खेल्नका लागि घर बाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसान भने खुशी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भएको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुने भएको छ ।

हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन ।

हवाइ उडान अवरुद्ध

आज बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तर जिल्ला जोड्ने एक मात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन ।

उडान अवरुद्ध हुँदा सिमकोटमा व्यवसाय गर्ने पसलेका सामान, निर्माण व्यवसायीका सामग्री ढुवानी ढप्प रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन् ।
कोरोना खोप कार्यक्रम प्रभावित
कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

आइतबारदेखि शुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोप कार्यक्रम अवरुद्ध भएको हो ।

हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम अवरूद्ध भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिएका छन् । ‘प्रदेशका हिमाली जिल्लाका माथिल्लो भेगमा हिमपात हुँदा सोमबार खोप कार्यक्रम हुन सकेकोे छैन्, हिमपात कम भए बुधबारदेखि शुरु गछौं,’ चौधरीले भने ।

चौधरीका अनुसार आइतबार मात्रै कर्णाली प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन् । ८ स्थानीय तहबाट भने अझै रिर्पोट आउन नसकेको उनले बताए । कर्णालीका १० जिल्लामा २८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७