कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?


२५ फाल्गुन २०७७, मंगलवार
pm office 1

काठमाडौं, २५ फागुन । सरकारका सचिवले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् ।

मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे व्यापक छलफल गरेका हुन् । सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नु पर्ने महत्वपूर्ण विषयको तय गर्नेलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ।
बैठकमा सहभागी एक सचिवका अनुसार बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि तय गरिने नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सहज, व्यावहारिक र सरकारको साख उँचो बनाउने गरी तय गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले नीति तथा कार्यक्रमको व्यावहारिक, कार्यान्वयनयोग्य, मापनयोग्य, नतिजामूलक, रूपान्तरणकारी र विकासको दूरगामी सोचअनुसारको अवधारणामा आधारित रही तर्जुमा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

साथै बैठकले कोभिड–१९ को कारण प्रभावित अर्थतन्त्र पुनरोत्थान गर्नेगरी नीति तथा कार्यक्रम तय गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले प्रस्तावित नीति तथा कार्यक्रम प्रदेश र स्थानीय तहका नीति तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी आवश्यक छलफल र समन्वय गरी तयार गर्ने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक र शासकीय क्षेत्रका नीति तथा कार्यक्रमलाई सूचकसहित दोहोरो नपर्ने गरी तयार गर्न आवश्यक समन्वय र सहयोग गर्ने निर्णय समेत गरेको छ ।

सचिव बैठकमा नीति तथा कार्यक्रममा समेट्नु पर्ने र सम्बोधन गर्नुपर्ने मुख्य विषयबारे समेत गम्भीर छलफल गरी निचोड निकालिएको छ । जसअनुसार आगामी नीति तथा कार्यक्रमले सरकारको दीर्घकालीन सोच २१००, पन्ध्रौं योजनाको लक्ष्य, दिगो विकास लक्ष्य, कोभिड–१९ पछिको परिदृष्यलाई समेट्नु पर्ने निष्कर्ष निकालिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७