प्रधानमन्त्री ओलीले गरे ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको शुभारम्भ

हरेक वर्ष हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गरिने


२५ फाल्गुन २०७७, मंगलवार
make in nepal2021 03 09 06 26 08

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) ले परिकल्पना गरेको यो अभियानअन्तर्गत स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत वार्षिक एक हजार नयाँ उद्योग स्थापना गर्ने र डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन र उपभोगलाई बढावा दिनुपर्ने बताए । स्वदेशमै उत्पादन सम्भव भएका वस्तुहरूको उपभोग बढाउँदै आयात प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघले परिकल्पना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको सोमबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई स्वदेशमै उत्पादन बढाएर मुलुकलाई निर्यातमूलक मुलुक बनाउन आग्रह गरेका छन् ।

‘मुलुकलाई समृद्ध बनाउने अठोट बोकेर मेक इन नेपाल अभियान सुरु गर्नुभएको छ, यस अभियानले राष्ट्रिय भावना बोकेको छ,’ उनले भने, ‘मलाई विश्वास छ, यो अभियानले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुका साथै मुलुकलाई निर्यात गर्न सक्ने क्षमतामा पुर्‍याउनेछ ।’

परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने महत्वाकांक्षी लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको हो । अभियानले मुलुकभित्र हरेक वर्ष एक हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री ओलीले भने, ‘परिसंघले सुरु गरे पनि वास्तवमा यो सरकारको अभियान हो, परिसंघ र सरकारका उद्देश्यहरू पनि मिलेका छन्, यस अभियानलाई सरकारको पूर्ण सहयोग रहनेछ ।’

अअभियानलाई आफ्नो कम्पनीबाट उत्पादित वस्तुहरूको विज्ञापन गरेर बिक्री गर्ने माध्यम नबनाई देशभित्र गुणस्तरीय उत्पादन बढाएर प्रतिस्पर्धी मूल्यमा उपभोक्तासम्म पुर्‍याई राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर गराउनेतर्फ केन्द्रित गर्न प्रधानमन्त्री ओलीले सुझाब दिएका छन् । ‘यो अभियान विज्ञापनजस्तो नहोस्, मुलुकलाई समृद्ध बनाउने क्याम्पियन होस्, शुभकामना छ,’ उनले भने, ‘यस अभियानलाई सफल पार्न तपाईंहरू लगानी गर्नुहोस्, नेपालमा लगानीका सुन्दर अवसरहरू छन् ।’

मुलुकमा दुई तिहाइ जनता कृषिमा आधारित भए पनि कृषि उत्पादन प्रशोधनका लागि उद्योग र प्रविधि नभएको उनले बताए । ‘हामीले यहीं कृषि उत्पादन प्रशोधन गर्ने उद्योग खोल्नुपर्छ, हामीले इनर्जी ड्रिंक्स यहीं उत्पादन गर्न सक्छौँ भनेर किन विदेशबाट ल्याएर बिक्री गर्ने ? उनले निजी क्षेत्रतिर प्रश्न तेस्र्याउँदै भने, ‘अत्यावश्यक वस्तु र कच्चा पदार्थ मात्र आयात गर्ने हो, स्वदेशमै उत्पादन सम्भावना भएका वस्तुहरू यहीं उत्पादन थालिनु पर्छ ।’

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा उत्पादन र उपभोगतर्फ ७ वटा लक्ष्यहरू तय गरिएका छन् । अभियानको पहिलो खम्बामा नेपाली उद्योगका लागि बिजनेसमैत्री वातावरण सिर्जना गर्ने रहेको छ, जसमा पाँच वर्षभित्र डुइङ बिजनेस इन्डेक्समा ३० अंकको सुधार गर्ने लक्ष्य लिइएको छ । अहिले नेपाल डुइङ बिजनेस इन्डेक्सको ग्लोबल र्‍याङ्किङमा ९४औं स्थानमा छ, अबको पाँच वर्षभित्र ६४ नम्बरमा उकास्ने लक्ष्य लिइएको परिसंघका प्रमुख आर्थिक सल्लाहकार एवं अर्थशास्त्री डा. विश्व पौडेलले बताए ।

हरेक वर्ष मुलुकमा एक हजार उद्योग सञ्चालन गर्ने र डेढ लाख रोजगारी सिर्जना गर्ने अभियानको लक्ष्य छ । यस्तै, कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य लिइएको छ । पाँच वर्षमा मुलुकको वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने उनले बताए । आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखिएको छ । नेपालमा आयात हुने प्रमुख १० प्रतिस्थापन गर्न सकिने वस्तुहरूको आन्तरिक उत्पादन बढाएर पाँच वर्षभित्र आयात ४० प्रतिशतले घटाउने लक्ष्य छ । पूर्वाधारमा पुँजीगत खर्च बढाउने लक्ष्य पनि प्राथमिकतामा छ ।

यसका लागि हरेक वर्ष जिडिपीको २० प्रतिशत रकम पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ । यस्तै, सेवा क्षेत्रको आधुनिकीकरणमा विशेष जोड दिइने भएको छ । स्वदेशी क्याम्पियन सुरु गरेर पाँच वर्षभित्र कम्तीमा ८० प्रतिशत नेपाली उत्पादक कम्पनीलाई यस अभियानमा सहभागी गराउने र प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५ प्रतिशतले बढाउँदै लैजाने पनि लक्ष्य लिइएको छ ।

उद्योगमन्त्री लेखराज भट्टले मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अभियानलाई नेपाल सरकारले स्वामित्व लिएर निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए । ‘मुलुकको उद्योग–व्यवसाय कोभिड–१९ का कारण प्रतिकूल अवस्थामा छ । सरकार र निजी क्षेत्र दुवैले यो महामारीबाट उद्योग–व्यवसाय र रोजगारी बचाउन प्रयासरत छौँ,’ अध्यक्ष मोरले भने, ‘यस्तो परिस्थितिमा स्वेदशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने हाम्रो लक्ष्य हो ।’

अर्थशास्त्री डा. पौडेलको नेतृत्वमा रहेको रिसर्च सेन्टरको बृहत् शोध र छलफलपछि परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’को परिकल्पना गरेको हो । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले संसारका विभिन्न देशले यस्तै अभियानहरू सञ्चालन गरेर स्वदेशी उत्पादन, खपत र निर्यातलाई समेत बढाएका उदाहरणहरू रहेको बताए । परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले नेपाली सेवा र वस्तु उपभोग बढाउन अभियान नै चलाउनुपर्ने बताउँदै नेपाली उत्पादनको प्रमुख उपभोक्ता नेपाल सरकार नै भएको उल्लेख गरे । परिसंघले स्वदेशी उत्पादनमा प्रयोग गर्नका लागि ‘लोगो’ समेत सार्वजनिक गरेको छ ।

मेक इन नेपाल–स्वदेशी अभियानको मुख्य लक्ष्य
– हरेक वर्ष हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गरिने ।
– कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने ।
– पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने ।
– पाँच वर्षभित्र डुइङ बिजनेस इन्डेक्स कम्तीमा ३० अंकले सुधार गर्ने (अहिलेको ९४ बाट ६४ मा उकास्ने) ।
– पाँच वर्षभित्र स्वदेशमै आत्मनिर्भर बन्न सकिने प्रमुख १० वस्तुको उत्पादन बढाएर आयात ४० प्रतिशतले घटाउने ।
– पाँच वर्ष पूर्वाधारमा जिडिपीको २० प्रतिशत खर्च गर्नुपर्ने ।
– प्रत्येक वर्ष नेपाली वस्तुको खपत २५ प्रतिशतले बढाउँदै लैजाने ।

– आयात प्रतिस्थापन गर्ने उद्योगहरू स्वदेशमै स्थापना गर्न प्रोत्साहित गर्ने ।
– राष्ट्रिय स्वाभिमान बढाउने रणनीतिसहित औद्योगिक पूर्वाधार, कृषि, वैदेशिक लगानी र सेवा क्षेत्रको विकास गर्ने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७