प्रहरीमा समायोजन प्रक्रिया चैतबाट


२५ फाल्गुन २०७७, मंगलवार
police head

काठमाडौं, २५ फागुन । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले अवरुद्ध प्रहरी समायोजनका लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला भइसकेकाले समायोजन प्रक्रिया अब नलम्बिने बताए ।

‘समायोजनको सुरुवाती चरणमा जनशक्ति समायोजन हुनेछ । यस सम्बन्धमा गृहकार्य सुरु भइसकेको छ’, उनले भने, ‘त्यसपछि अन्य प्रक्रिया चरणबद्ध हुनेछन् ।’ सरकारले यसअघि प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेसँगै समायोजन प्रक्रिया रोकिएको थियो । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनको निर्णय बदर भएसँगै निर्वाचन सुरक्षामा जुटेको प्रहरी समायोजन तयारीमा फर्किएको हो ।

सरकारले यसअघि मङ्सिरमा प्रहरी समायोजनसम्बन्धी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत र समायोजनसम्बन्धी विधेयक एक वर्षअघि नै स्वीकृत गरिसकेको छ । सर्वेक्षणले केन्द्र (सङ्घ) मा प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा प्रहरी रहने व्यवस्था गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७