चार सन्तानसँगै कर्णालीमा हामफालिन् आमा, दुई शव भेटियो, तीन अझै बेपत्ता


२५ फाल्गुन २०७७, मंगलवार
fukot karnali 1

दैलेख,, २५ फागुन । दैलेखको आठबीस नगरपालिका–३ की एक महिला चार सन्तानसहित कर्णाली नदीमा हामफालेकी छिन् ।

पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायल निवासी मानसिंह बडुवालकी ३४ वर्षीया सुकी बडुवाल चार सन्तानसहित हिजो (सोमबार) कर्णाली नदीमा हामफालेका हुन् । देशभर १११ औं नारी दिवस मनाइरहेका बेला चरम गरिबीसँग जुधिरहेकी सुकी चार सन्तानसहित कर्णाली नदीमा हेलिएकी हुन् । कर्णाली नदीमा हामफालेका पाँच जनामध्ये दुई छोरीको मात्र शव भेटिएको छ । अन्य तीन जना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ बेलखेत नजिकै जाल तान्दा दुई छोरीको शव भेटिएको हो । पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

dead 7tw2tT5ZH0
भेटिएका दुई बालिकाको शव

उनका अनुसार मानसिंहकी तीन छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो । अन्यको अवस्था अझै पनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ । डीएसपी श्रेष्ठले मानसिंहका दुई छोरीको शव भेटए पनि एक छोरी, एक छोरा र श्रीमती बेपत्ता रहेका छन् । आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भेटिएको छैन ।

स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन् । स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको छ ।

बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७