एमाले र माओवादीलाई आयोगले भन्यो : एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू


२५ फाल्गुन २०७७, मंगलवार
nirbachan aayoga

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा रहने हो भने १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णयसहित निवेदन दिन आग्रह गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेका दुई दललाई पुनः एकीकरण गर्ने भए दलको नाम र चिन्ह प्रस्ताव गरी१५ दिनभित्र निर्णयसहित उपस्थित हुन सूचित गराएको हो ।

‘आयोगको फागुन २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’ भनी निर्वाचन आयोगले निर्णय गरेको छ ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७